विवाह, मेला र उत्सवमा डिजे बजाउन नपाइने: मोरङ प्रशासनद्वारा अनिश्चितकालका लागि प्रतिबन्ध
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने कुनै पनि प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्मका लागि डिजे को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचना अनुसार अबदेखि मोरङ जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक अनुष्ठान तथा पुराणजस्ता कुनै पनि साना-ठूला कार्यक्रममा डिजे बजाउन वा प्रयोग गराउन पाइने छैन।
अत्यधिक ध्वनि प्रदूषण, सामाजिक अशान्ति तथा सांस्कृतिक-धार्मिक कार्यक्रमका नाममा डिजेका कारण सम्भावित विवाद र झडपका घटनालाई रोकथाम गर्ने उद्देश्यले प्रशासनले यो कदम चालेको हो।
प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कसैले डिजेको प्रयोग गरेमा वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा तथा सामाजिक सुव्यवस्था कायम राख्न सम्पूर्ण जिल्लावासीलाई यो सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment