धौलिगङ्गा बाँध खुल्दै, महाकाली किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
बैतडी । भारतस्थित धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँधको स्लुइस गेट सरसफाइ गरिने भएको छ। बाँध खोलिने भएपछि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा बैतडी प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै साउन १३ गते बुधबार बिहान ६:०० बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६:०० बजेसम्म (करिब ३६ घण्टा) धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट खोलेर सरसफाइ गरिने जानकारी दिएको छ।
उक्त अवधिमा र त्यसपछि पनि महाकाली नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्ने, ढुङ्गा तथा बालुवा सङ्कलन गर्ने कार्य नगर्न र अन्य जोखिमपूर्ण गतिविधिहरूबाट टाढै रहन सचेत गराएको छ।
साथै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूलाई पनि आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment