देशभर मनसुनी वायुको प्रभाव: पहाडी भूभागका धेरै स्थानमा वर्षा र केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान वरपर तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।
आज बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
यस अवधिमा देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्छ। यस्तै, कोशीको तराई र मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
साथै, रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment