अविरल वर्षा र पहिरोका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्राअघि सडकको अवस्था बुझ्न प्रहरीको अपिल
काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीले अद्यावधिक विवरण सार्वजनिक गर्दै केही मुख्य सडकहरू पूर्ण रूपमा ठप्प भएको र केही राजमार्गमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
पहिरो र बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी, कान्ति लोकपथमा पनि साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालन रोकिएको छ भने ललितपुरको बागमती गाउँपालिका–३ स्थित सोही लोकपथमा सुक्खा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द भएको छ।
यता मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ मा भीषण वर्षाका कारण बाटो अत्यधिक हिलाम्मे भएर आवागमन ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।
यस्तै, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित सामाकोशी खोलाले सडक कटान गर्दा लामासाँघु-रामेछाप सडक खण्ड ठप्प भएको छ भने रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले कटान गर्दा पासाङ ल्हामु राजमार्गमा पनि यातायात रोकिएको छ।
यसैगरी, रोल्पाको परिवर्तन गाउँपालिका-१ स्थित घोराही-थवाङ शहीद राजमार्गमा बिहान सुक्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा ठप्प भएको छ। उता लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ स्थित बेँसीसहर-च्यामे-मनाङ सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध हुन पुगेको छ।
वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित निकाय वा प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक पूर्वसतर्कता अपनाउन नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment