नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो: चितवनमा सबैभन्दा बढी १४५ बाघ

डिसी नेपाल
१३ साउन २०८३ १२:१९

काठमाडौं। नेपालमा पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ।

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा मंगलबार कृषि, वन तथा पर्यावरण मन्त्रालयले औपचारिक कार्यक्रम आयोजना गरी बाघको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गरेकाे वि.सं. २०८२ को गणना प्रतिवेदनअनुसार मुलुकभर बाघको कुल संख्या ४२९ पुगेको छ।

सार्वजनिक विवरणअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वटा बाघ रहेका छन्। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ अभिलेख गरिएका छन्।

संरक्षण क्षेत्रको चुस्त व्यवस्थापन, प्राकृतिक बासस्थानमा सुधार तथा आहारा प्रजातिको सङ्ख्यामा भएको वृद्धिका कारण बाघको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको मन्त्रालयले जनाएको छ।

नेपालमा प्रायः चार-चार वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ। यसअघि सन् २०२२ मा गरिएको गणनाअनुसार मुलुकभर ३५५ वटा बाघ रहेका थिए। सो गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ भेटिएका थिए।

मन्त्रालयले सन् २००९ देखि नियमित रूपमा बाघ गणना गर्दै आएको छ, जसअनुसार सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ रहेका थिए।

प्रत्येक वर्ष जुलाई २९ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न विश्व बाघ शिखर सम्मेलनको घोषणापछि यो दिवस मनाउन थालिएको हो।

तीव्र रूपमा घट्दै गएको बाघको संख्यालाई जोगाउन र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवसको सुरुवात गरिएको थियो। बाघ प्राकृतिक खाद्य शङ्खलाको माथिल्लो तहमा रहने र स्वस्थ पारिस्थिकीय प्रणालीको प्रमुख सूचक मानिने महत्त्वपूर्ण प्रजाति हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *