संसदीय सुनुवाइमा मानबहादुर कार्की: निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता
काठमाडौं। संसदीय सुनुवाइ समिति (संयुक्त) ले प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिश भएका मानबहादुर कार्कीको संसदीय सुनुवाइ सम्पन्न गरेको छ।
सुनुवाइका क्रममा प्रस्तावित प्रमुख आयुक्त कार्कीले आफ्नो शैक्षिक तथा व्यावसायिक कार्यअनुभव प्रस्तुत गर्दै निर्वाचन आयोगको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता लोकतन्त्रका लागि अपरिहार्य रहेको बताएका छन्।
आफ्नो योग्यता र अनुभवबारे जानकारी दिँदै कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा एलएलएम गरेकाे उल्लेख गरे।
उनले पूर्वाञ्चल ग्रामीण विकास बैंकबाट आफ्नो जागिरे जीवनको सुरुवात गरेको र पछि २०५२ सालमा निजामती सेवामा प्रवेश गरी २०६३ सम्म राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतका रूपमा सेवा गरेको बताए।
निर्वाचन व्यवस्थापनको अनुभवका सन्दर्भमा उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस स्तरमा निर्वाचन अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको जानकारी दिए।
निर्वाचनको महत्त्व दर्शाउँदै उनले निर्वाचनलाई प्रजातन्त्र वा लोकतन्त्रको आँखा र ऐनाका रूपमा बुझ्नुपर्ने धारणा राखे। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनु नै आयोगको प्रमुख दायित्व भएको चर्चा गर्दै उनले आयोगको स्वतन्त्रता र स्वायत्तता सुनिश्चित हुनुका साथै विधिको शासन, नागरिकका मौलिक अधिकार र व्यक्तिगत स्वतन्त्रताको जगेर्ना हुनुपर्नेमा जोड दिए।
आगामी दिनमा आयोगले निष्पक्षता, पारदर्शिता, स्वायत्तता, जवाफदेहिता, विश्वसनीयता, प्रभावकारिता, पूर्वसक्रियता, व्यावसायिकता, निष्ठा र सक्षमताजस्ता मूल मान्यताहरूलाई कार्यसम्पादनको आधार बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले यिनै सिद्धान्त र मूल्य-मान्यताको दायराभित्र रहेर आयोगका समग्र कामकारबाहीहरू अगाडि बढ्नुपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment