मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित

डिसी नेपाल
१३ साउन २०८३ १६:१३

काठमाडौं। संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ।

बुधबार बसेको समितिको बैठकले कार्कीसहित निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका अन्य दुई जनाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको हो।

समिति सभापति बोध नारायण श्रेष्‍ठले संवैधानिक परिषद्को २०८३ असार १९ गतेको निर्णयअनुसार प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका मोरङका मानबहादुर कार्कीको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियमबमोजिम सर्वसम्मत अनुमोदन गरिएको जानकारी दिए।

त्यस्तै, निर्वाचन आयुक्त पदमा सिफारिस भएका गुरुप्रसाद वाग्लेलाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। समितिले संवैधानिक परिषद्को निर्णयअनुसार वाग्लेलाई सिफारिस गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो।

यसैगरी निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा.राजीव सुब्बा, काठमाडौंको नाम पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। उनको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरिएको समितिले जनाएको छ।

समितिले सुनुवाइका क्रममा प्रस्तावित पदाधिकारीहरूले प्रस्तुत गरेका कार्ययोजनालाई थप परिणाममुखी बनाउन निर्देशनसमेत दिएको छ। कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र कार्यान्वयनमा सहयोग पुग्ने गतिविधि समेटेर परिमार्जन गरी पुनः समितिमा पेस गर्नुपर्ने निर्णय गरिएको सभापतिले बताए।

समितिले सुनुवाइका क्रममा प्राप्त सुझावलाई समेत समेटेर कार्ययोजना सुधार गर्न निर्देशन दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *