बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी
काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएकी छन्।
विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन्।
उनले नेपालले सन् १९७९ देखि बाघ संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम कार्यान्वयन गर्दै आएको तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगमा बाघको बासस्थान र आहारा संरक्षणमा निरन्तर काम भइरहेको जानकारी दिइन्।
नेपाल अन्तरदेशीय संरक्षण कार्यक्रम तथा विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय संयन्त्रमार्फत बाघ संरक्षणमा सक्रिय रहेको उल्लेख गर्दै उनले नेपाल–भारतबीच सञ्चालित तराई आर्क ल्यान्डस्केप कार्यक्रमले बाघको आनुवंशिक विविधता संरक्षण र दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
मन्त्री चौधरीले स्थानीय समुदायको सहभागिता संरक्षणको आधारशिला भएको भन्दै संरक्षणबाट पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, आयआर्जन तथा सामुदायिक अपनत्व अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
उनले विश्वभर सन् २०१० मा करिब ३ हजार २ सय रहेको बाघको संख्या बढेर हाल ५ हजार ५ सयभन्दा बढी पुगेको र त्यसमा नेपालको योगदान महत्वपूर्ण रहेको उल्लेख गरिन्। नेपालमा नियमित गस्ती, चोरी–सिकारी नियन्त्रण, बासस्थान व्यवस्थापन तथा सामुदायिक सहभागिताका कारण बाघको संख्या निरन्तर बढिरहेको उनले बताइन्।
बढ्दो बाघ संख्यासँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि बढेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण, होल्डिङ सेन्टर व्यवस्थापन तथा पीडित परिवारलाई छिटो, प्रभावकारी र पीडितमैत्री ढंगले राहत उपलब्ध गराउँदै आएको जानकारी दिइन्। दीर्घकालीन व्यवस्थापनका लागि टाइगर स्याङ्क्चुअरीलगायत विकल्पबारे अध्ययन भइरहेको पनि उनले बताइन्।
वैज्ञानिक बाघ गणनाबाट प्राप्त तथ्यांकले आगामी संरक्षण नीति तथा योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले मानव सुरक्षा र बाघ संरक्षणबीच सन्तुलन कायम गर्नु सरकारको साझा लक्ष्य रहेको बताइन्।
मन्त्री चौधरीले संरक्षण अभियानमा योगदान पुर्याउँदै आएका नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय समुदाय, संरक्षण साझेदार संस्था, सञ्चारकर्मी, प्राविधिक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरिन्। संरक्षण क्षेत्रमा समुदाय र सुरक्षाकर्मीले आफ्नो ज्यानको जोखिम मोलेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले सबै पक्षको सहकार्यबाट मात्रै संरक्षण अभियान सफल हुने बताइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment