स्थानीय तह निर्वाचन लक्षित गर्दै रास्वपाले ल्यायो ‘क्यान्डिडेट क्लब’, यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णय

डिसी नेपाल
१३ साउन २०८३ २१:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत मनोनीत गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा विधानअनुसार शाहलाई वरिष्ठ नेतामा मनोनीत गरिएको हो।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठकका ११ बुँदे निर्णयहरू सार्वजनिक गरेका छन्। बैठकले पार्टी विधानको धारा २३ बमोजिम सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह–महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेको ‘पार्टी सचिवालय’ समेत गठन गरेको छ।

त्यसैगरी, बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम महाधिवेशनको समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमी–कमजोरीहरूलाई स्वीकार गरी संगठनलाई थप परिपक्व र सुदृढ बनाउने निर्णय गरेको छ। आगामी श्रावण १८ गतेसम्म केन्द्रीय सदस्यहरूबाट प्राप्त हुने सुझावहरू समेट्ने गरी बैठक सञ्चालन कार्यविधि, सदस्यता सम्बन्धी कार्यविधि लगायतका साङ्गठनिक दस्तावेजहरू पारित गरिएको छ।

विभागको नेतृत्व लिन इच्छुक केन्द्रीय तथा सांसदहरूबाट स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना माग गरिएको छ भने सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन महिनाको कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य छलफल गर्ने निर्णय भएको छ। आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवारहरू छनोट गर्न भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरिने भएको छ।

साथै, ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ लाई भव्यताका साथ मनाउने निर्णय गर्दै यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीलाई दिइएको छ। नागरिकका गुनासा तथा समस्या सुन्न केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टी सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी सहजीकरण संयन्त्र निर्माण गर्न पनि निर्देशन दिइएको छ। त्यसैगरी, सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै आत्महत्या र आत्मदाहजस्ता दु:खद घटना तथा समाचारहरू आफ्ना सामाजिक सञ्जालमा सेयर वा सम्प्रेषण नगर्न पार्टीपंक्तिलाई कडा निर्देशन जारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *