दुई हप्ताको विश्रामपछि आज प्रतिनिधिसभा बैठक: यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं। लगातार दुई हप्ताको लामो विश्राम र आन्तरिक तयारीपछि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
संसद्को अवरोध हटाउन, बिजनेस व्यवस्थापन गर्न र आगामी कार्यसूचीलाई प्रभावकारी बनाउन बैठकको पूर्वसन्ध्यामा सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन शाहसँग बुधबार भेटवार्ता तथा परामर्श गरेका छन्।
भेटका क्रममा संसद्मा विचाराधीन रहेका विधेयकहरूलाई द्रुत गतिमा अघि बढाउने, संसद्को कामकारबाहीलाई व्यवस्थित बनाउने र सदनमा राजनीतिक दलहरूबीच सहमति र सहकार्यको वातावरण सिर्जना गर्ने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।
यसैबीच, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को कामकारबाहीलाई तीव्रता दिन र कानुन निर्माणको प्रक्रियालाई सहज बनाउन नौ वटा महत्त्वपूर्ण विधेयकहरू संसद्मा पेस गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पाेखरेलका अनुसार प्रशासनिक, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न सुधारसँग सम्बन्धित ती विधेयकहरूलाई संसद्को चालु अधिवेशनबाटै पारित गराउने लक्ष्य राखिएको छ। मन्त्रिपरिषद्को यो निर्णयले लामो समयदेखि विधेयकको पर्खाइमा रहेको संसद्लाई पर्याप्त बिजनेस दिने अपेक्षा गरिएको छ।
आज बिहान ११:०० बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने मुख्य कार्यसूची रहेको छ।
साथै बैठकमा सभामुख अर्यालले हालै निधन भएका प्रतिनिधिसभाका पूर्वसदस्य, संविधानसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment