असामाजिक तत्त्वको पछि नलाग्न र शान्तिको पक्षमा उभिन सांसद अमरेशकुमार सिंहको आग्रह

डिसी नेपाल
१४ साउन २०८३ १०:५४

सर्लाही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले हिंसा, अशान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि त्यागेर समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने बताएका छन्।

मधेशवासीका नाममा अपिल जारी गर्दै सांसद सिंहले बारम्बार हुने आन्दोलन तथा जातीय र धार्मिक हिंसाले मधेशमा अशान्ति मात्र निम्त्याएको नभई विकासको गतिलाई करिब १० वर्ष पछाडि धकेलेको बताएका हुन्।

यस्ता अवाञ्छित गतिविधिले सार्वजनिक तथा भौतिक संरचनामा क्षति पुर्‍याउने, शैक्षिक सत्र प्रभावित पार्ने, व्यापार-व्यवसाय ठप्प बनाउने र समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने उनले उल्लेख गरेका छन्। यसको प्रत्यक्ष मार अन्ततः मधेशकै विकास र समृद्धिमा पर्ने उनको भनाइ छ।

“अब मधेशले हिंसा र अशान्तिको बाटो छाडेर विकासको एजेन्डामा केन्द्रित हुनुपर्ने समय आएको छ,” सांसद सिंहले भनेका छन्। उनले मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवा रोजगारीलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सबै जातजाति, धर्म, समुदाय र वर्ग एकढिक्का भएर मधेशको समुन्नत विकासका लागि लाग्नुपर्नेमा जोड दिँदै सांसद सिंहले समाजमा शान्ति र सद्भाव बिगार्ने उद्देश्यले सक्रिय असामाजिक तत्त्वको पछि नलाग्न मधेशवासीसँग आग्रह गरेका छन्।

वर्षौँदेखि एकताबद्ध भएर बसिरहेका समुदायबीच विभाजन, द्वन्द्व र अविश्वास फैलाउने व्यक्ति वा समूह जुनसुकै वर्गको भए पनि उनीहरूलाई मधेशको विकासविरोधीका रूपमा बुझ्नुपर्ने उनले बताएका छन्। यस्ता अशान्ति फैलाउने तत्त्वहरूलाई समाजले अस्वीकार गर्दै शान्ति, सद्भाव र विकासको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा उनले जोड दिएका छन्।

सांसद सिंहले मधेशको भविष्य आन्दोलन र अशान्तिमा नभई शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र दिगो पूर्वाधार विकासमा निहित रहेको उल्लेख गर्दै समृद्ध मधेश निर्माणका लागि सम्पूर्ण पक्षलाई हातेमालो गर्न आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *