सीमासम्बन्धी अभिव्यक्ति र सुनसरी घटनालाई लिएर प्रतिनिधिसभामा प्रतिपक्षीको विराेध

डिसी नेपाल
१४ साउन २०८३ ११:३३

काठमाडौं। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दलहरुले विराेध गरेका छन्। सभामुख डीपी अर्यालले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।

प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति तथा सुनसरीमा घटेको घटनालाई लिएर प्रतिपक्षी दलहरुले सरकारको कडा आलोचना गर्दै सदनमा तुरुन्त जवाफ दिनुपर्ने माग राखेका छन्।

प्रतिपक्षी सांसदहरुको निरन्तरको विरोध र हुर्मतपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई आफ्नो धारणा राख्न समय प्रदान गरेका थिए।

विशेष समयमा बोल्दै प्रमुख सचेतक थापाले प्रधानमन्त्रीले सीमाजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको र त्यसले राष्ट्रिय हितमा आघात पुर्‍याएको आरोप लगाइन्।

साथै, सुनसरीमा भएको पछिल्लो अशान्त र दुःखद घटनाप्रति सरकारको मौनता र उदासीनतामाथि प्रश्न उठाउँदै उनले यस विषयमा प्रधानमन्त्री तथा गृहमन्त्रीले तत्काल सदनसमक्ष उपस्थित भई आधिकारिक स्पष्टीकरण र जवाफ दिनुपर्ने अडान राखिन्।

प्रतिपक्षी दलहरुले सरकारबाट चित्तबुझ्दो जवाफ नआएसम्म र सीमा तथा शान्ति सुरक्षाजस्ता संवेदनशील मुद्दामा स्पष्ट नभएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *