आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१५ साउन २०८३ ६:२६

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ।

यसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली छ भने मधेस र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान तथा गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहने पूर्वानुमान छ। रातिको समयमा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

भारी वर्षा हुने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक विपद्को जोखिम रहने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *