कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान

डिसी नेपाल
१५ साउन २०८३ ६:५०

काठमाडौं। उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ।

सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै मन्त्रालयले घटनाप्रति तीव्र आपत्ति जनाएको छ।

खाडी क्षेत्रमा बढेको पछिल्लो तनाव र सैन्य मुठभेडका बीच गैर-सैन्य क्षेत्रमा भएको यस आक्रमणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ।

स्थिति थप भयावह हुन नदिन परराष्ट्र मन्त्रालयले सम्बद्ध सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, युद्धको साटो वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न तथा नागरिक एवं सार्वजनिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न जोडदार आह्वान गरेको छ।

साथै, मन्त्रालयले जुनसुकै परिस्थितिमा पनि जेनेभा महासन्धि र अन्तर्राष्ट्रिय मानवीय कानूनका स्थापित नियमहरूको पूर्ण रूपमा पालना हुनुपर्ने विषयलाई पुन: दोहोर्‍याएको छ।

घटनामा ज्यान गुमाएका नेपालीका शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना प्रकट गर्दै सरकारले मृतकको पार्थिव शरीरलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र पीडित परिवारलाई आवश्यक पर्ने सम्पूर्ण राहत तथा कूटनीतिक सहयोग उपलब्ध गराउन पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *