मूल्यवृद्धि र मन्दीले रित्तिएका बजार: ‘साउने हरियाली’बीच मारमा तरकारी व्यापारी

काठमाडौं।। साउन महिना नेपाली समाजमा हरियाली, व्रत-पूजा र हरिया तरकारीसँग जोडिने महिना मानिन्छ। तर, यही महिना ललितपुरको लगनखेल तरकारी बजारका व्यापारीहरू भने व्यापारमा आएको मन्दीका कारण चिन्तित बनेका छन्।

तरकारीको मूल्यवृद्धि, उपभोक्ताको घट्दो खरिद क्षमता र धेरैले कौसी तथा करेसाबारीमा उत्पादन गरेको तरकारी प्रयोग गर्न थालेपछि बजारमा ग्राहकको चहलपहल घटेको व्यापारीहरूको भनाइ छ।

लगनखेलमा बिहानैदेखि विभिन्न जिल्लाबाट ल्याइएका ताजा तरकारी सजाइए पनि साँझसम्म बिक्री नहुँदा व्यापारीहरू घाटा बेहोर्न बाध्य छन्। ताजा तरकारी अर्को दिनसम्म राख्न नमिल्ने भएकाले अन्तिम समयमा सस्तो मूल्यमा बेच्नुपर्ने वा बिग्रिने जोखिम उठाउनुपर्ने बाध्यता उनीहरूका अगाडि छ।

रामेछापकी अञ्जु मगर लामो समयदेखि लगनखेलमा तरकारी व्यापार गर्दै आएकी छन्। उनका अनुसार साउन महिनाभर व्यापार अत्यन्तै सुस्त हुने गरेको छ। “अहिले साउनभरि व्यापार नै छैन, साँझसम्म सामान उठाउनै धौ-धौ हुन्छ,” अञ्जु भन्छिन्, “आज सात सय रुपैयाँमा आएको सामान भोलि आठ सय पुग्न सक्छ; कहिले घट्ने, कहिले बढ्ने ठेगान हुँदैन। त्यही भएर घाटा धेरै छ।”

उनका अनुसार बिहान चार बजेदेखि उठेर तरकारी ल्याउने, सफा गर्ने र आठ बजेसम्म बिक्री गर्ने दिनचर्या भए पनि सबै सामान बिक्री हुँदैन। त्यसपछि पालिकाका कर्मचारीले सडक खाली गराउन आएपछि बाँकी तरकारी उठाएर लैजानुपर्ने बाध्यता छ।

गोलभेडा, भेन्डी, परवल, घिरौँला, अदुवा, लसुन बिक्री गर्दै आएकी उनले लगनखेलमा गोटीखेल, गोदावरी, हर्षे र कालीमाटीलगायतका क्षेत्रबाट तरकारी आउने गरेको बताइन्।

त्यसैगरी, भारतीय मूलका व्यापारी दशैँकुमार पनि अहिलेको व्यापारबाट सन्तुष्ट छैनन्। बजारमा व्यापारीको सङ्ख्या बढे पनि ग्राहक घटेको उनको अनुभव छ। “पहिलाजस्तो व्यापार हुँदैन, बिहान र बेलुकाको समयमा मात्रै केही बिक्री हुन्छ। बाँकी सामान पन्छाउन सस्तैमा बेच्नुपर्छ,” उनले भने।

थोक मूल्य दिनहुँ परिवर्तन हुने भएकाले ग्राहकलाई सम्झाउन कठिन हुने उनी बताउँछन्। “आज १२० रुपैयाँ पर्ने तरकारी भोलि १३० पुग्न सक्छ। कहिले १०-१५ रुपैयाँ घट्छ, कहिले बढ्छ। तर ग्राहकले हिजोकै मूल्य खोज्छन्,” दशैँकुमारले भने, “हामीले प्रतिकिलो १०-१५ रुपैयाँ नाफा राखेर बेच्नुपर्ने हुन्छ, तर प्रत्येक दिन गाडीभाडामै करिब ३०० रुपैयाँ खर्च हुन्छ।”

बिहान तीन बजे उठेर तरकारी ल्याउने, दिनभर ठेलागाडा गुडाउने र राति नौ बजेसम्म सडकमा खट्दा पनि कहिलेकाहीँ सावाँ लगानी उठ्न मुस्किल हुने उनीहरू सुनाउँछन्।

हाल बजारमा गोलभेडालगायतका तरकारी पसलहरूमा प्रतिकिलो १३० देखि १४० रुपैयाँसम्म बिक्री भइरहेको छ भने ठेलागाडामा १०० देखि ११० रुपैयाँमै बेच्नुपरेको छ।

अत्यधिक मूल्यवृद्धि, बढ्दो प्रतिस्पर्धा, कौसी खेती र उपभोक्ताको खरिद क्षमतामा आएको ह्रासका कारण साउन महिना साना तरकारी व्यवसायीका लागि चुनौतीपूर्ण बनेको छ।

हरियालीको प्रतीक मानिने यो महिनामा बजारमा हरियो तरकारी प्रशस्त देखिए पनि व्यापार भने सुस्त छ, जसको प्रत्यक्ष असर व्यवसायीको दैनिक जीविकोपार्जनमा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *