बजारमा नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक: उद्योगमन्त्री यादवको कडा निर्देशनपछि सयभन्दा बढी सामग्री नियन्त्रणमा
काठमाडौं। बजारमा नक्कली तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण बढेको गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले कडा कदम चाल्न निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनलगत्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पार्दै १०० भन्दा बढी शंकास्पद नक्कली उत्पादनहरू नियन्त्रणमा लिएको छ।
विभागका अनुसार नियन्त्रणमा लिइएका सामानहरूको गुणस्तर तथा मौलिकता जाँचका लागि हाल प्रयोगशालामा परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदन आएपछि दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड सह्य हुँदैन: मन्त्री यादव
मन्त्री गौरी यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग सीधा जोडिएको विषयमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पारेकी छन्।
बजार अनुगमनलाई अझ प्रभावकारी र व्यापक बनाउन विभागलाई निर्देशन दिँदै उनले दोषी पाइएका जो-कसैलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएकी छन्। बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
अनुगमन तीव्र, उपभोक्तालाई सचेत रहन आग्रह
विभागका महानिर्देशक मोति सापकोटाले बजारमा अझै पनि नक्कली उत्पादन बिक्री भइरहेको सूचना आइरहेकाले विभाग आफैँ नियमित र आकस्मिक अनुगमनमा सक्रिय रहेको बताएका छन्।
विभागले सर्वसाधारण उपभोक्तालाई पनि सजग रहन आग्रह गरेको छ। बजारमा कुनै शंकास्पद वा नक्कली उत्पादन बिक्री-वितरण भएको देखेमा तुरुन्त सम्बन्धित निकाय वा विभागमा जानकारी गराउन उपभोक्ताहरूसँग अनुरोध गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment