किन मस्तिष्कमा जीवनभर ताजा रहन्छ पहिलो प्रेम ? न्यूरोसाइन्स र मनोविज्ञानको रोचक विश्लेषण
काठमाडौँ । धेरैजसो मानिसका लागि पहिलो पटक प्रेममा पर्नु जीवनकै सबैभन्दा स्मरणीय अनुभवमध्ये एक हुन्छ। तर दशकौँ बितिसक्दा पनि पहिलो प्रेम र पहिलो सम्बन्धको याद मस्तिष्कमा किन यति ताजा रहन्छ? त्यो समयका सम्झनाहरू किन यति गहिरा हुन्छन् र तिनलाई बिर्सन किन गाह्रो हुन्छ?
वास्तवमा, कम उमेरमा मानव मस्तिष्कले दीर्घकालीन सम्झनाहरू बनाउने गर्छ। अधिकांश मानिसले किशोरावस्थामा पहिलो प्रेमको अनुभव गर्छन्। यो मस्तिष्क विकासको यस्तो चरण हो, जहाँ सम्झनाहरूलाई सङ्कलन गर्ने र लामो समयसम्म सुरक्षित राख्ने क्षमता आफ्नो चरम विन्दुमा हुन्छ।
यस विषयमा वेस्टमिनस्टर विश्वविद्यालयकी न्यूरोसाइकोलोजी प्राध्यापक क्याथरिन लोभी भन्छिन्, ‘यस उमेरमा हामीभित्र सम्झनाहरूलाई सटीक रूपमा सँगाल्ने र तिनलाई लामो समयसम्म कायम राख्ने असाधारण क्षमता हुन्छ।’
उनका अनुसार मस्तिष्कले ती कुरा र घटनाहरूलाई बढी राम्रोसँग याद राख्छ, जुन भावना र संवेदनाहरूसँग जोडिएका हुन्छन्। जब कुनै घटना पहिलो पटक घट्छ, जसले जीवनमा गहिरो प्रभाव पार्छ वा खुसी, दुःख, पीडा र बेचैनी जस्ता तीव्र भावनाहरू उत्पन्न गराउँछ, तब त्यो याद लामो समयसम्म रहने सम्भावना उच्च हुन्छ।
यसबाहेक, कुनै सम्झनालाई जति धेरै पटक दोहोर्याइन्छ वा याद गरिन्छ, त्यो मस्तिष्कमा त्यति नै बलियो भएर बस्छ। प्राध्यापक लोभी भन्छिन्, ‘हामीले यी अनुभव र सम्झनाहरूलाई जति पटक ताजा गर्छौँ, तिनीहरूसँग जोडिएका न्यूरल कनेक्सनहरू त्यति नै मजबुत हुँदै जान्छन्।’
पहिलो प्रेम मानव सम्बन्धलाई बुझ्ने सुरुवात पनि हो। कुनै पनि युवाका लागि यो एउटा महत्त्वपूर्ण मोड हो, किनकि ऊ पहिलो पटक आफ्नो परिवार र सीमित सामाजिक दायराभन्दा बाहिरको व्यक्तिसँग गहिरो भावनात्मक सम्बन्ध बनाउन पुग्छ।
सन् १९९३ मा अमेरिकी मनोवैज्ञानिक डा. न्यान्सी कालिसले धेरै वर्षपछि आफ्ना पुराना प्रेमी वा प्रेमिकालाई सम्पर्क गरेका मानिसहरूमाथि एउटा अध्ययन गरेकी थिइन्।
त्यस्ता जोडIमध्ये धेरैजसो दम्पतीहरूले केही हप्ताभित्रै आफ्नो सम्बन्ध पुनः सुरु गरेका थिए र तीमध्ये ७२ प्रतिशतले पछि एक-अर्कासँग विवाह समेत गरेका थिए।
त्यस्तै, इन्टरनेटको पहुँच बढेपछि सन् २००४ मा गरिएको अर्को अध्ययनमा डा. कालिसले पुराना प्रेमी-प्रेमिकालाई पुनः भेट्नेमध्ये ६२ प्रतिशत मानिसहरू फेरि प्रेम सम्बन्धमा बाँधिएको पाएकी थिइन्, यद्यपि तीमध्ये ५ प्रतिशत मात्र विवाहसम्म पुगेका थिए।
प्राध्यापक लोभी भन्छिन्, ‘मैले ७० र ८० वर्ष उमेरका मानिसहरूसँग पनि कुरा गरेकी छु। तीमध्ये धेरैले आज पनि आफ्नो पहिलो प्रेमलाई जीवनको सबैभन्दा प्रस्ट र महत्त्वपूर्ण यादका रूपमा लिन्छन्।’
पुराना यादहरूलाई सम्झनुको अर्थ सधैँ गुमेको सम्बन्धको चाहना मात्र हुँदैन। यसले वर्तमान सम्बन्धलाई पनि सुदृढ बनाउन सक्छ।
ह्युस्टन विश्वविद्यालयका प्राध्यापक एडम फेटरम्यान यस अवधारणालाई ‘रोमान्टिक नोस्टाल्जिया’ भन्छन्। उनका अनुसार आफ्नो सम्बन्धका खास पलहरू (जस्तै: पहिलो भेटमा हेरेको चलचित्र फेरि सँगै हेर्नु) पुनः याद गर्नाले मानिसहरूमा सुखद भावना जागृत हुन्छ र उनीहरू आफ्ना वर्तमान साथीसँग थप भावनात्मक रूपमा जोडिन पुग्छन्।
केट र गुन्टरको कथाले पनि पहिलो प्रेमको गहिराइलाई पुष्टि गर्छ। ३० वर्षपछि पुनः भेटिएर विवाह गरेका उनीहरू भन्छन्, ‘जिन्दगीमा सबैलाई दोस्रो मौका मिल्दैन, तर पुराना यादहरू र निष्कपट प्रेमले मानिसहरूलाई पुनः जोड्न सक्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment