पेरुमा विमान दुर्घटना चालक दलसहित सबै यात्रुको मृत्यु, शव सङ्कलन जारी

डिसी नेपाल
१७ साउन २०८३ ११:१०

काठमाडौं । पेरुको पर्यटकीय क्षेत्रमा शनिबार एउटा विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम तथा पेरुका सरकारी अधिकारीहरूले सो घातक दुर्घटनाको पुष्टि गरेका छन्।

प्राप्त विवरणअनुसार सेसना क्याराभान सी-२०८ मोडलको सो विमान दक्षिणी पेरुस्थित विश्व प्रसिद्ध युनेस्को विश्व सम्पदा ‘नाज्का लाइन्स’ माथि पर्यटकीय उडान भरिरहेका बेला दुर्घटनामा परेको हो। विमानमा ११ जना विदेशी पर्यटक र दुई जना पाइलट सवार थिए।

पेरुको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुने पर्यटकहरूमा दुई जना जर्मन, दुई जना स्पेनिस र सात जना इटालीका नागरिक रहेका छन्। दुर्घटनाका कारणहरूबारे हालसम्म केही खुल्न सकेको छैन र घटनाको गहन अनुसन्धान जारी रहेको छ।

प्रहरी मेजर जोर्ज एन्ड्राडेले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग कुरा गर्दै दुर्घटना अत्यन्तै भयानक रहेकाले कोही पनि जीवित बच्न नसकेको बताएका छन्। उनका अनुसार दुर्घटनास्थलबाट हालसम्म चार जनाको शव बरामद भइसकेको छ।

प्रशासनका अनुसार दुर्घटनाग्रस्त विमान पेरुको स्थानीय उडान सेवा दिने कम्पनी ‘एरोडियाना’ को थियो। एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित नियमनकारी निकायको निर्देशनअनुसार आफ्ना आगामी उडान तालिकाको समीक्षा गरिने जनाएको छ।

‘नाज्का लाइन्स’ पेरुको मरुभूमिमा बनेका हजारौँ वर्ष पुराना विशाल रेखाचित्रहरूका लागि विश्वभर प्रसिद्ध छ। जमिनमा बनाइएका यी आकृतिहरू हेर्न पर्यटकहरू साना विमानमार्फत हवाई सयर गर्ने गर्छन्।

यद्यपि, यस क्षेत्रमा पर्यटकीय विमान दुर्घटना भएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०२२ मा भएको यस्तै विमान दुर्घटनामा परि सात जना र सन् २०१० मा भएको दुर्घटनामा ६ जना पर्यटकले ज्यान गुमाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *