धार्मिक पर्यटकको रोजाइमा मकवानपुरको सिसमहल: निःशुल्क अवलोकन र आवासीय सुविधा

डिसी नेपाल
१८ साउन २०८३ ७:०८

बागमती। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएका दुईवटा सिसमहल धार्मिक पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेका छन्। मन्दिरमा पुग्ने दर्शनार्थीहरूका लागि लक्ष्मीनारायणको दर्शनसँगै सिसमहल मुख्य रोजाइमा पर्ने गरेको छ।

अन्य स्थानमा रहेका सिसमहल हेर्न शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि यहाँका महलहरू भने सर्वसाधारणका लागि पूर्ण रूपमा निःशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिए।

परिसरमा रहेको राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको आठ लाख रुपैयाँ सहयोगमा निर्माण भएको हो भने सीताराम सिसमहल भक्तजनहरूको २० लाख रुपैयाँको आर्थिक सहयोगमा बनेको हो।

विक्रम संवत् २०३२ मा अनन्त श्री विभूषित पराङ्कुशाचार्यले स्थापना गर्नुभएको यो संस्था २०६१ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत् दर्ता भएको थियो। करिब दुई कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरभित्र दक्षिण भारतको प्रसिद्ध तिरुपति बालाजीकै जस्तो संरचना निर्माण गरी सोही विधि र नियमअनुसार पूजाआजा गर्ने गरिएको छ।

मन्दिरमा दैनिक बिहान ६ देखि १० बजेसम्म र दिउँसो ४ देखि ८ बजेसम्म नियमित पूजाआजा हुने पुजारी भक्ति दाहालले बताए। विशेष गरी रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी, झुलन महोत्सव र हरेक पुस महिनामा आयोजना हुने महालक्ष्मी उत्सवमा यहाँ भक्तजनको बाक्लो उपस्थिति रहने गर्छ।

मन्दिर व्यवस्थापन समितिले आध्यात्मिक जागरणका साथै सामाजिक सेवाका क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको छ। दूरदराजबाट आउने तीर्थालुका लागि मन्दिर परिसरमै छ वटा कोठासहित दैनिक १० देखि १२ जनासम्म बस्न सक्ने आवासीय व्यवस्था गरिएको छ। साथै मुगु, हुम्लालगायत दुर्गम जिल्लाका पाँच जना बटुकहरूलाई गाँस, बाससहित वैदिक शिक्षा र विद्यालय तहको पढाइको व्यवस्था मिलाइएको छ।

मन्दिर परिसरभित्रै मार्बलमा अठारै अध्याय श्रीमद्भगवत् गीता कोरिएको छ, जसका लागि ६ वर्षअघि १८ जना दाताले तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए। २०५८ मा स्थापित लक्ष्मी नारायण व्यास पीठबाट दैनिक वेद, भागवत् गीता र श्रीमद्भागवतको पाठपारायण हुने गर्छ भने कस्तुरी योग साधना केन्द्रमार्फत दैनिक करिब ४० जना स्थानीयले योग साधना गर्दै आएका छन्।

आध्यात्मिक जागरण र सामाजिक सेवाको विशिष्ट केन्द्रका रूपमा यस मन्दिरलाई अघि बढाउने काम भइरहेको समितिकी सदस्य गोमादेवी वाग्लेले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *