सिमल तरुलबाट इन्धन उत्पादनको तयारी: ११ अर्ब लगानी भित्र्याउन सरकारको ‘ग्यारेन्टी’ पर्खिँदै कियान
काठमाडौं। नेपालमा सिमल तरुल (कासाभा) को प्रयोग गरी इथानोल उत्पादन गर्ने र कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने लक्ष्यका साथ कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानीको योजना अघि बढाएको छ। कम्पनीले करिब ११ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने अन्तिम तयारी गरेको हो।
कम्पनीका अध्यक्ष बेदप्रसाद खरेलका अनुसार २०७८ सालमा सुरु भएको यो अवधारणाअन्तर्गत २०७९ मा कम्पनी दर्ता गरी उद्योग विभागबाट उत्पादन अनुमतिसमेत लिइसकिएको छ।
परियोजनालाई प्रभावकारी बनाउन ‘कियान केमिकल्स’ र ‘कियान एग्रिकल्चर’ गरी दुईवटा भगिनी संस्था स्थापना गरिएका छन्। एउटा कम्पनीले इथानोल उत्पादन गर्नेछ भने अर्कोले कृषकहरूसँग सहकार्य गरी कच्चा पदार्थ (सिमल तरुल) को उत्पादन तथा आपूर्ति व्यवस्थापन गर्नेछ।
नेपालका तीन प्रदेशमा उत्पादन केन्द्र, रौतहटमा जग्गा खरिद
कम्पनीले कोशी, मधेस र गण्डकी प्रदेशमा इथानोल उत्पादन केन्द्र स्थापना गर्ने योजना बनाएको छ। सोही योजनाअनुरूप मधेस प्रदेशको रौतहटस्थित कटहरिया नगरपालिकामा करिब १० बिघा जग्गा खरिद गरिसकिएको छ। अध्ययन, अनुसन्धान, जग्गा खरिद र प्रारम्भिक तयारीका क्रममा हालसम्म करिब २६ करोड रुपैयाँ लगानी भइसकेको अध्यक्ष खरेलले जानकारी दिए।
यस परियोजनामा नेपालसहित अमेरिका, बेलायत र थाइल्यान्डका लगानीकर्ता, गैरआवासीय नेपाली तथा विषयगत विज्ञहरूको सहभागिता रहेको छ। कृषि विभागका पूर्वसहसचिव विष्णु अर्यालले कृषि विज्ञका रूपमा र पूर्वसचिव बाबुराम आचार्यले प्रशासनिक एवं संस्थागत व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
१ लाख ३० हजार हेक्टरमा खेती, २० लाख किसान जोड्ने लक्ष्य
खाद्यान्न बालीलाई असर नपुग्ने गरी बाँझो र कम उर्वर जमिनमा पनि सजिलै फलाउन सकिने भएकाले कच्चा पदार्थका रूपमा सिमल तरुल रोजिएको कम्पनीले जनाएको छ। थाइल्यान्डको सफल मोडललाई पछ्याउँदै कम्पनीले नेपालका ३६ भन्दा बढी स्थानीय तहहरूसँगको सहकार्यमा चीन, थाइल्यान्ड, भारत र नेपालका रैथाने जातका बीउको परीक्षण खेती गरिसकेको छ।
प्रशोधन केन्द्रहरूमार्फत किसानबाट सिमल तरुल खरिद गरी उद्योगलाई कच्चा पदार्थ आपूर्ति गरिनेछ। कम्पनीले देशभर करिब १ लाख ३० हजार हेक्टर क्षेत्रफलमा सिमल तरुल खेती विस्तार गरी २० लाखभन्दा बढी किसानलाई जोड्ने र ग्रामीण रोजगारी सिर्जना गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।
सरकारी खरिद सम्झौता नहुँदा लगानी जोखिममा
प्रारम्भिक तयारी पूरा भइसके पनि इथानोल खरिदसम्बन्धी सरकारी नीति स्पष्ट नहुँदा र खरिद सम्झौता नहुँदा ठूलो लगानी जोखिममा परेको कम्पनीको भनाइ छ। विगतमा पनि इथानोल प्लान्ट स्थापना गरेर पनि सरकारी खरिदको सुनिश्चितता नहुँदा प्रयोगविहीन बनेको दृष्टान्त दिँदै अध्यक्ष खरेलले सरकारसँग स्पष्ट नीति र बजारको ग्यारेन्टी माग गरेका छन्।
“हामीलाई कुनै अनुदान चाहिएको छैन, लगानी हामी आफैँ ल्याउँछौँ। सरकारले केवल इथानोल खरिदको स्पष्ट नीति र वातावरण बनाइदिओस्,” खरेलले भने। ढिलासुस्ती र नीतिगत अन्योलका कारण वैदेशिक लगानीकर्ताहरूसमेत निराश बन्न थालेकाले सरकारले समयमै प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment