काठमाडौं। लगातारको मुसलधारे वर्षाका बाबजुद नुवाकोटस्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन कार्य अवरुद्ध भएको छैन। प्रतिकूल मौसमको चुनौती सामना गर्दै श्रमिकहरू निरन्तर खटिएपछि काठमाडौं उपत्यकाको दैनिक फोहोर व्यवस्थापन सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।
सिस्डोल ल्यान्डफिल साइटमा बिहानैदेखि वर्षा भइरहे पनि श्रमिकहरू वर्षात्को कुनै प्रवाह नगरी फोहोर व्यवस्थापनमा जुटिरहेका छन्। हिलो, चिप्लो बाटो र वर्षाका कारण काम गर्न कठिन अवस्था भए पनि उनीहरूले राजधानीबाट दैनिक संकलन हुने फोहोर व्यवस्थापनलाई निरन्तरता दिएका छन्।
काठमाडौं महानगरपालिका तथा उपत्यकाका अन्य स्थानीय तहबाट संकलन गरिएको फोहोर दैनिक रूपमा सिस्डोल पुर्याइँदै आएको छ। वर्षाका कारण सडक तथा ल्यान्डफिल क्षेत्रमा चुनौती थपिए पनि सम्बन्धित निकाय र श्रमिकहरूको समन्वयका कारण फोहोर व्यवस्थापन रोकिएको छैन।
राजधानीमा दैनिक ठूलो परिमाणमा उत्पादन हुने फोहोर समयमै व्यवस्थापन हुन नसके सार्वजनिक स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पर्ने भएकाले प्रतिकूल मौसममा समेत श्रमिकहरू निरन्तर खटिनुपरेको हो।
सिस्डोलमा कार्यरत श्रमिकहरूको यही अथक मेहनतका कारण मुसलधारे वर्षाबीच पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। वर्षा, हिलो र जोखिमपूर्ण वातावरणका बीच उनीहरूले निर्वाह गरिरहेको जिम्मेवारीले राजधानीलाई फोहोरको थुप्रो बन्नबाट जोगाइरहेको छ।
Facebook Comment