‘कक्राेच आन्दोलन’ र युवा लहरको बलमा बिहारमा प्रशान्त किशोरको जित
काठमाडौं। भारतीय राज्य बिहारको पटनास्थित बाँकीपुर विधानसभा उपनिर्वाचनमा जनसुराज पार्टीका संस्थापक एवं पूर्व चुनावी रणनीतिकार प्रशान्त किशोर (पीके) ले ऐतिहासिक जित हासिल गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) को साढे दुई दशकभन्दा लामो अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किशोर ६४,१५१ मतका साथ निर्वाचित भएका हुन्। निकै चासोका साथ हेरिएको यस उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार किशोरले आफ्ना निकटतम प्रतिस्पर्धी भाजपाका उम्मेदवार नीरज कुमार सिन्हालाई १९,३२४ मतान्तरले पराजित गरे।
सिन्हाले ४४,८२७ मत प्राप्त गर्दा राष्ट्रिय जनता दल (आरजेडी) की उम्मेदवार रेखा कुमारी १४,२७३ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन्। भाजपाको बलियो किला ध्वस्तबाँकीपुर क्षेत्र (साविक पटना पश्चिम) सन् १९९५ देखि लगातार भाजपाको कब्जामा रहँदै आएको थियो।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले यस क्षेत्रबाट लगातार पाँच पटक विधायक जितेका थिए। नवीन गत अप्रिलमा राज्यसभामा निर्वाचित भएपछि खाली भएको यस सीटमा उपनिर्वाचन गराइएको हो। गत नोभेम्बर २०२५ को विधानसभा निर्वाचनमा जनसुराजले २३८ सीटमा उम्मेदवारी दिएर पनि खाता खोल्न सकेको थिएन।
तर, यस उपनिर्वाचनमा भने भाजपाको गढ नै भत्काएर पीकेले प्रत्यक्ष राजनीतिमा आफ्नो दमदार उपस्थिति जनाएका छन्।
‘कक्राेच आन्दोलन’ र युवापुस्ताको साथ
चुनावी रणनीतिकारका रूपमा ख्याति कमाएका पीकेको यस चुनावी सफलतामा भारतमा हालै चर्चित बनेको ‘कक्राेच आन्दोलन’ (ककरोच जनता पार्टी) र युवाहरूको समर्थनलाई महत्त्वपूर्ण मानिएको छ।
परीक्षामा भएका धाँधली र बेरोजगारीका विरुद्ध युवाहरूले चलाएको उक्त आन्दोलनलाई किशोरले सुरुदेखि नै बलियो साथ दिएका थिए। आन्दोलनकै दबाबका कारण भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो।
ग्रामिण महिला अगुवा (जीविका दिदी) हरूको कार्यक्रममा पीकेले भनेका थिए, “यदि ककरोच जनता पार्टीका मानिसहरू यहाँ आएर विद्यार्थीसँग मिलेर काम गर्छन् भने हामी उनीहरूलाई स्वागत गर्छौँ। सोनम वाङ्चुक मेरा मित्र हुन्।” भ्रष्टाचार विरोधी र सुशासनको एजेन्डा बोकेका पीकेलाई युवा र महिलाको यही ऐक्यबद्धताले चुनावी जितसम्म पुर्याएको विश्लेषकहरूको भनाइ छ।
संयुक्त राष्ट्रसंघदेखि जनसुराजसम्मको यात्रा
२० मार्च १९७७ मा बिहारको रोहतास जिल्लाको कोनार गाउँमा जन्मिएका प्रशान्त किशोरको बाल्यकाल बक्सरमा बितेको थियो। उनले बक्सरको एमपी हाइस्कूलबाट माध्यमिक र पटना साइन्स कलेजबाट उच्च माध्यमिक शिक्षा पूरा गरे।
पछि लखनउ विश्वविद्यालयबाट बीबीए र हैदराबादस्थित ‘एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डिया’ बाट हेल्थकेयर एडमिनिस्ट्रेशन (एमएचए) मा स्नातकोत्तर गरेका उनले फ्रान्सको क्याबिलाम भिचीबाट फ्रेन्च भाषा अध्ययन गरेका थिए।
राजनीतिमा आउनुअघि उनले करिब आठ वर्ष संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित जनस्वास्थ्य कार्यक्रमहरूमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। त्यसपछि ‘इन्डियन पोलिटिकल एक्सन कमिटी’ स्थापना गरी भारतका शीर्ष नेताहरूका लागि चुनावी रणनीति बनाउने काम गरे। २ अक्टोबर २०२४ मा ‘जनसुराज’ पार्टी घोषणा गर्दै प्रत्यक्ष राजनीतिमा होमिएका किशोर अन्ततः आफैँ विधायक बन्न सफल भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment