अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध, रात्रिकालिन सवारी सञ्चालनमा रोक

डिसी नेपाल
१९ साउन २०८३ १०:१८

काठमाडौं। केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

काठमाडौं र ललितपुरलाई जोड्ने तथा उपत्यकाबाट बाहिरिने केही वैकल्पिक मार्गहरू पहिरोका कारण ठप्प भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३ स्थित पाण्डुरमा ठूलो पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काठमाडौँको नागार्जुन नगरपालिका-८ स्थित ठूलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

यसैबिच, कोशी प्रदेशका भोजपुर र इलाममा पनि सडक अवरोध देखिएको छ। भोजपुर नगरपालिका-५, बोखिममा बाढी आएका कारण पुष्पलाल (मध्यपहाडी) लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। सो क्षेत्रमा वैकल्पिक बाटोको व्यवस्था मिलाइएको छ।

उता इलाम नगरपालिका-९ स्थित राजदुवालीमा खसेको पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा विपद्को जोखिमलाई मध्यनजर गर्दै केही जोखिमयुक्त राजमार्गहरूमा रात्रिकालिन सवारी सञ्चालनमा रोक लगाइएको छ।

बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइनेछ।

यसैगरी, कान्ति लोकपथकै हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा पनि बाढी-पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।

त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित चारकिलो र वडा नम्बर २ को कोदारीमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

अविरल वर्षा र पहिरोको जोखिम यथावत् रहेकाले प्रहरीले यात्रा गर्नुअघि अनिवार्य रूपमा सडकको अवस्थाबारे जानकारी लिन र यात्राका क्रममा उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *