बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

डिसी नेपाल
२० साउन २०८३ ११:०५

काठमाडौं। अभिनेत्री तथा निर्देशक झरना थापाले चलचित्र ‘ए मेरो हजुर ५’को छायांकन बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाबाट सुरु गर्ने घोषणा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले यही साउन २९ गतेदेखि चलचित्रको औपचारिक छायांकन यात्रा आरम्भ हुने जानकारी दिएकी हुन्।

नेपालको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वलाई उजागर गर्ने उद्देश्यसहित बडीमालिकालाई पहिलो छायांकन थलो बनाउन लागिएको निर्देशक थापाले उल्लेख गरेकी छन्।

“नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ,” उनले लेखेकी छन्, “हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत सङ्गम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।”

उनले प्रधानमन्त्री बालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचारप्रसारमा विशेष जोड दिएको प्रसङ्ग स्मरण गरेकी छन्।

नेपाली प्रकृति, संस्कृति र मौलिक भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने लक्ष्यका साथ निर्माण हुन लागेको यस चलचित्रले नेपालीपनलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने विश्वास उनले व्यक्त गरेकी छन्।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता सुनिलकुमार थापा हुन् भने सञ्जय लामाले छायांकन (सिनेमाटोग्राफी) को जिम्मेवारी सम्हाल्नेछन्।

चलचित्रमा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहने पक्का भइसकेको छ भने अन्य कलाकारहरूको नामावली अहिल्यै सार्वजनिक गरिएको छैन।

अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा एकसाथ अभिनय गरिसकेका छन्, जसलाई दर्शकले निकै रुचाएका थिए।

स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो ‘ए मेरो हजुर’ सफल भएपछि, त्यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनमा कदम राखेकी हुन्। त्यसयता यस शृंखलाका अघिल्ला चारै संस्करणले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *