सिन्धुलीमा कारको गियर बक्समा लुकाएर ल्याएको खैरो हेरोइनसहित तीन जना पक्राउ

डिसी नेपाल
२१ साउन २०८३ ७:१०

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–९ बाट ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा दुधौली–९ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सिरहाको मिर्चैयाबाट काठमाडौँतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शङ्कास्पद अवस्थामा रोकेर जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा ४४ दशमलव ३४० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा आफूलाई ‘जनजागरण खबर’ का समाचारदाता बताउने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर पतारी गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

घटनास्थलबाट प्रहरीले खैरो हेरोइनसहित चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कारसमेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार उमेश कुमार यादवले काठमाडौँस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरेको खुलेको प्रहरीको भनाइ छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *