‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार-२०८३’ का लागि निबन्ध आह्वान
अमेरिका। नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का लागि हास्यव्यङ्ग्य निबन्ध आह्वान गरिन्छ। यो पुरस्कारको व्यवस्थापन हरेक वर्ष ‘बाङ्गा अक्षर’ ले गर्दै आएको छ।
उक्त पुरस्कारको स्थापना ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका लेखक राजेन्द्र कार्कीले गर्नुभएको हो।
यस वर्षको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार – २०८३’ कुल चार जना विद्यार्थीलाई प्रदान गरिनेछ:
-
प्रथम पुरस्कार: रु २०,०००/- (बीस हजार)
-
द्वितीय पुरस्कार: रु १०,०००/- (दस हजार)
-
तृतीय पुरस्कार (दुई जना): जनही रु ५,०००/- (पाँच हजार)
प्रतियोगिताका सर्त तथा नियमहरू:
१. सहभागिता: कक्षा १२ सम्म अध्ययनरत विश्वभरका जुनसुकै नेपाली भाषी विद्यार्थीले भाग लिन सक्नेछन्। सहभागी विद्यार्थी कुन कक्षामा अध्ययनरत छ भन्ने स्पष्ट हुने गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) को सिफारिसपत्र अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ। २. मौलिकता: निबन्ध पूर्ण रूपमा मौलिक हुनुपर्नेछ र यसमा हास्य तथा व्यङ्ग्यको उचित सन्तुलन हुनुपर्नेछ। ३. शब्द सीमा: निबन्ध बढीमा १,५०० (पन्ध्र सय) शब्दसम्मको हुनुपर्नेछ। ४. भाषा र लिपि: निबन्ध देवनागरी लिपिमा टाइप गरिएको र भाषिक रूपमा शुद्ध हुनुपर्नेछ। ५. सत्यनिष्ठा: कृत्रिम बौद्धिकता (AI) को प्रयोग गरिएको, अन्यत्रबाट चोरी गरिएको वा अरू कसैलाई लेख्न लगाइएको निबन्ध प्रतियोगितामा समावेश गरिने छैन। ६. विषयवस्तु: निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिनेछ। निबन्धले सामाजिक वा व्यक्तिगत गलत प्रवृत्तिलाई व्यङ्ग्य गरेको हुनुपर्नेछ। तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय वा लिङ्गलाई लक्षित गरी व्यङ्ग्य वा गालीगलौज गरिएको निबन्ध स्वीकार्य हुने छैन। ७. आवश्यक कागजात र माध्यम: निबन्ध MS Word फाइलमा टाइप गरी, एक प्रति फोटो र छोटो व्यक्तिगत विवरण (Bio) सहित पठाउनुपर्नेछ। ८. अन्तिम मिति: निबन्ध यही असोज १४, २०८३ (सेप्टेम्बर ३०, २०२६) सम्ममा बाङ्गा अक्षरको इमेल ठेगाना [email protected] मा पठाइसक्नुपर्नेछ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आगामी दिनमा पनि हास्यव्यङ्ग्य लेखनलाई निरन्तरता दिनेछन् भन्ने ‘बाङ्गा अक्षर’ ले अपेक्षा राखेको छ।
धेरैभन्दा धेरै विद्यार्थीहरूलाई यस प्रतियोगितामा सहभागी हुन प्रेरित गरिदिनुहुन सम्पूर्ण अभिभावक, साहित्यानुरागी, शिक्षक एवम् सम्बद्ध सबैमा ‘बाङ्गा अक्षर’ हार्दिक अनुरोध गर्दछ। साथै, आफ्ना सम्पर्कमा रहेका विद्यालय तथा विद्यार्थीहरूमाझ यो सूचना पुर्याइदिनुहुन पनि विनम्र अनुरोध गरिन्छ।
प्राप्त निबन्धहरूलाई ‘बाङ्गा अक्षर’ द्वारा गठित स्वतन्त्र निर्णायक मण्डलले मूल्याङ्कन गरी उत्कृष्ट रचनाहरूलाई पुरस्कारका लागि सिफारिस गर्नेछ। घोषित विजेताहरूलाई एक विशेष समारोहका बिच पुरस्कार अर्पण गरिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment