अमेरिकामा २१३ औँ भानु जयन्ती तथा १०३ औँ धर्मराज थापा जयन्ती भव्य रूपमा सम्पन्न

डिसी नेपाल
११ साउन २०८३ ७:२०

वासिङ्टन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नेपाली भाषा, साहित्य समितिले जुम प्रविधिमार्फत २१३ औँ भानु जयन्ती तथा १०३ औँ धर्मराज थापा जयन्ती भव्यताका साथ मनाएको छ।

समितिका सभापति एवं वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा र कवि मदनराज थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथिद्वय स्वर्गीय जनकविकेशरी धर्मराज थापाका सुपुत्री र सुपुत्र थिए भने मदनराज थापा ‘जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठान’ का अध्यक्षसमेत हुन्।

कार्यक्रमको सुरुआतमा समितिका उपाध्यक्ष एवं कवि कृष्ण गिरीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि गायिका ज्ञानु राणाको जीवनी प्रस्तुत गर्नुका साथै आफ्नो मौलिक कविता वाचन गरेका थिए। साहित्यिक कार्यक्रममा अमेरिकाका विभिन्न राज्यका साथै नेपालबाट पनि वरिष्ठ साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रचना वाचन गर्ने स्रष्टाहरूले आदिकवि भानुभक्त आचार्य र जनकविकेशरी धर्मराज थापाको बहुआयामिक व्यक्तित्व एवं नेपाली भाषा, साहित्य र लोकसंस्कृतिमा उहाँहरूले पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायिका ज्ञानु राणाले आदिकवि भानुभक्त र जनकवि धर्मराज थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो साङ्गीतिक यात्राका अनुभवहरू सेयर गरिन्। उनले ७७ वर्षको उमेरमा पनि आफ्ना चर्चित लोकगीतका साथै भानुभक्तका सिर्जनामा आधारित रचनाहरू मधुर स्वरमा प्रस्तुत गर्दा सभाकक्ष भावविभोर बनेको थियो। त्यसैगरी अर्का अतिथि कवि मदनराज थापाले माता-पिताको नाममा स्थापित प्रतिष्ठानका गतिविधि र नेपाली भाषा-संस्कृतिको संरक्षणमा भइरहेका प्रयासहरूबारे जानकारी गराए।

कार्यक्रम सञ्चालक प्रभा पोख्रेलले भानु र धर्मराजका सिर्जनाहरू सुरीलो स्वरमा प्रस्तुत गर्दै सहभागीहरूलाई जोडेकी थिइन्। कार्यक्रममा भाषा साहित्य समितिका विभागीय प्रमुख एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य, प्राध्यापक रन्जुश्री पराजुली लगायत तीर्थराज अधिकारी, विष्णा बिरही, डा. शम्भु कँडेल, जीवन निरौला, डमरु पौडेल, गायत्री तिमिल्सिना, पिपलमणि सिग्देल, डा. अमरबहादुर कार्की, डा. निरज श्रेष्ठ, डा. पवित्रा अर्याल, रामचन्द्र अधिकारी, डा. प्रशान्त घिमिरे, डा. छत्रपति दाहाल, सीता अर्याल, डा. रमेश पोख्रेल र डा. शरद पराशर मरहट्टा लगायतका साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए।

सभापतिको आसनबाट बोल्दै साहित्यकार राजेन्द्रप्रसाद अर्यालले भानु र धर्मराजको योगदानको उच्च मूल्यांकन गरे। जनकविकेशरी धर्मराज थापाजस्ता राष्ट्रका विशिष्ट प्रतिभाको नाममा स्थापित प्रतिष्ठान सञ्चालन गर्न सन्तानहरूले नै आफ्नै स्रोतसाधन जुटाउनुपरेको तीतो यथार्थप्रति चिन्ता व्यक्त गर्दै उनले राज्यस्तरबाट यस्ता संस्थाहरूलाई पूर्ण आर्थिक सहयोग हुनुपर्ने धारणा राखे। अन्त्यमा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले कार्यक्रमको समापन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *