दूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ : मुख्यमन्त्री खगराज भट्ट
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
कैलाली उद्योग वाणिज्य सङ्घको ५२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेशमा रहेका सम्भावना र स्रोतसाधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए। आफू भर्खरै सरकारको नेतृत्वमा आएको र अहिले बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनको भनाइ थियो। उनले भने, ‘हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गर्छौं।’
सङ्घका अध्यक्ष पुष्करराज ओझाले आफ्नो एकवर्षे कार्यकालमा व्यवसायीको हितलाई केन्द्रमा राखेर विभिन्न काम गरिएको जानकारी दिए। उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको बताए।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्र मल्ल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्ण शर्मा, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना, सुदूरपश्चिम उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पुष्पराज कुँवर लगायतले सुदूरपश्चिमको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उद्योग तथा व्यवसाय मैत्री वातावरण निर्माण गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment