बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा प्रचण्ड : एकीकृत पुनःस्थापना योजना बनाउन जोड

डिसी नेपाल
२७ भदौ २०८३ २०:०९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवामा आएको प्रलयकारी बाढीका कारण प्रभावित भएका धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा उनले बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षति, खोज तथा उद्धार, राहत वितरण र प्रभावितहरूको अस्थायी बसोबासको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन्।

संयोजक प्रचण्डले नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट र बेलकोटगढीका साथै धादिङको गल्छी क्षेत्र पुगेर क्षतिको प्रत्यक्ष अवलोकन गरेका थिए। त्यस अवसरमा उनले बाढीपिडितहरूसँग भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या, राहतको स्थिति र पुनःस्थापनाका लागि तत्काल गर्नुपर्ने पहलबारे छलफल गरे।

साथै, उनले विभिन्न होल्डिङ सेन्टरहरूमा पुगेर विस्थापित नागरिकहरूको अस्थायी बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा र खानेपानीलगायतका आधारभूत आवश्यकताको अवस्थाबारे समेत चासो व्यक्त गरे।

अनुगमनकै क्रममा जिल्ला समन्वय समिति नुवाकोटद्वारा आयोजित सर्वपक्षीय छलफलमा प्रचण्ड सहभागी भए। राजनीतिक दल, संघ–संस्था, सरकारी निकाय र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले हालसम्म भएका उद्धार तथा राहत कार्य, विद्यमान समस्या र भावी रणनीतिबारे आफ्ना धारणा राखेका थिए।

छलफलमा बोल्दै संयोजक प्रचण्डले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाउन राज्यका सम्पूर्ण स्रोत, साधन र शक्ति परिचालन गर्नुपर्नेमा जोड दिए। बाढीका कारण अवरुद्ध बनेका सडक, विद्युत्, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक सेवाहरू तत्काल सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रको सम्पर्क सञ्जाल पुनःस्थापित गर्न सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

विस्थापित नागरिकका लागि तत्काल अस्थायी आवासको प्रबन्ध मिलाउन संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै उनले राहत र उद्धारमा मात्र सीमित नभई दीर्घकालीन पुनःस्थापनाका लागि एकीकृत योजना अघि बढाउनुपर्ने बताए।

विपद्को यस कठिन समयमा राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठ्न आग्रह गर्दै प्रचण्डले राज्यका सम्पूर्ण संयन्त्र, राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजलाई एकीकृत रूपमा परिचालन गरी प्रभावित नागरिकको जीवन सामान्य बनाउनेतर्फ केन्द्रित हुन अपिल गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *