नेपालको बाढी-पहिरोप्रति एएनओद्वारा दुःख व्यक्त, उद्धार र राहतका लागि विश्वभरका नेपालीलाई अपिल
अमेरिका। नेपालको भोटेकोशी नदीमा आएको बाढी र भीषण पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले मर्माहत र स्तब्ध भएको जनाएको छ।
एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले विज्ञप्ति जारी गर्दै बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता नागरिकको तत्काल सकुशल उद्धारको कामना गरिएको छ।
भौगोलिक विकटताका कारण प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको भन्दै एएनओले अवरुद्ध राजमार्ग, सञ्चार तथा विद्युत् सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ। पीडितहरूका लागि खाद्यान्न, शुद्ध खानेपानी, औषधि र अस्थायी आवासको व्यवस्था छिटोभन्दा छिटो पुर्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
जन्मभूमि तथा पितृभूमिमा आइपरेको संकटको घडीमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली मूलका समुदाय र संघ-संस्थाहरूलाई ऐक्यबद्ध हुन एएनओले आह्वान गरेको छ। रसुवा लगायतका अति प्रभावित क्षेत्रहरूमा तत्काल राहतका लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गर्दै संस्थाले धैर्य धारण गरी विपद्को सामना गर्न आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment