अमेरिकाको ‘अल अबाउट बिजनेस’को ब्रान्ड एम्बेसडरमा धुर्मुस-सुन्तली नियुक्त

डिसी नेपाल
२८ असोज २०८३ १०:२६
16
Shares

अमेरिका। विश्वभरका विभिन्न व्यवसायको डिजिटल मार्केटिङ तथा व्यवसाय प्रवर्द्धन गर्दै आएको अमेरिकी कम्पनी ‘अल अबाउट बिजनेस एलएलसी’ले हास्यकलाकार तथा सामाजिक अभियन्ताद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।

अक्टोबर १३ तारिखमा पेन्सिलभेनियामा एक विशेष कार्यक्रमको आयोजना गरी सो घोषणा गरिएको हो।

कम्पनीले धुर्मुस-सुन्तलीलाई स्वागत गर्दै यो सहकार्य निकै सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेको छ।

“उहाँहरूजस्तो ख्यातिप्राप्त र कहलिएका व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेसडरका रूपमा पाउनु कम्पनी परिवारका लागि अत्यन्तै हर्ष र उत्साहको विषय हो,” कम्पनीका संस्थापक किशोर तिम्सीनाले भने, “कम्पनीलाई विश्वव्यापी बनाउन र नयाँ उचाइमा पुर्‍याउन उहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।”

यस कम्पनीको मुख्यालय अमेरिकाको पेन्सिलभेनियास्थित इरि सहरमा रहेको छ।

कम्पनीसँगको आबद्धतापछि कलाकार सीताराम कट्टेलले पनि आफूहरूलाई ब्रान्ड एम्बेसडर चयन गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्। “विश्वभर छरिएर रहेका नेपाली उद्यमी तथा व्यवसायीहरूको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसँग जोडिन पाउँदा हामी अत्यन्तै खुसी छौँ,” उनले भने।

अल अबाउट बिजनेसले साना तथा विस्तार हुँदै गरेका व्यवसायहरूको अनलाइन पहिचान बलियो बनाउने, डिजिटल प्रचारप्रसार बढाउने र सम्भावित ग्राहकसम्म पहुँच विस्तार गर्ने सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीका सह-संस्थापक लुकास इन्द्र सापकोटाका अनुसार व्यावसायिक परामर्श, रणनीति, प्रविधि, मार्केटिङ, विज्ञापन र सामग्री (कन्टेन्ट) निर्माणलाई एकै ठाउँबाट एकीकृत रूपमा उपलब्ध गराउनु नै कम्पनीको मुख्य उद्देश्य हो।

कम्पनीले प्रदान गर्ने प्रमुख सेवाहरूमा सोसल मिडिया मार्केटिङ, फेसबुक पेज व्यवस्थापन, इन्स्टाग्राम तथा टिकटकका लागि पोस्ट र सामग्री निर्माण, गुगल बिजनेस प्रोफाइल व्यवस्थापन, गुगल विज्ञापन सञ्चालन, वेबसाइट निर्माण र सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) रहेका छन्।

यसका साथै, व्यवसायका उत्पादन तथा सेवामा रुचि राख्ने सम्भावित ग्राहक पहिचान गरी व्यावसायिक अवसर बढाउन सहयोग पुर्‍याउने ‘लीड जेनेरेसन’ सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

आफ्नो परिचयमा १० वर्षभन्दा बढीको व्यावसायिक अनुभव र विशेषज्ञता समेटिएको उल्लेख गर्दै कम्पनीले प्रत्येक व्यवसायको प्रकृति र आवश्यकताअनुसार रणनीति तयार गर्ने बताएको छ। कम्पनीका प्रमुख किशोर विगत १२ वर्षदेखि पेन्सिलभेनियाको इरि सहरमा होमकेयर व्यवसायमा संलग्न रहँदै आएका छन्।

कम्पनीको प्राविधिक तथा व्यवस्थापकीय टोलीमा व्यावसायिक परामर्शदाता, रणनीतिकार, डेभलपर, डिजाइनर र विज्ञापन विशेषज्ञ लगायतका विज्ञहरू रहने जनाइएको छ।

डिजिटल माध्यमबाट व्यवसायको पहिचान र ग्राहकसम्मको पहुँच विस्तार गर्ने आफ्नो मूल उद्देश्यमा धुर्मुस-सुन्तलीसँगको यो सहकार्य निकै उपलब्धिमूलक हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *