सुनको मूल्यमा लगातार गिरावट: तीन दिनमै तोलामा ७ हजार घट्यो
काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार ठूलो गिरावट आएको छ। बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ। यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार यसको मूल्य २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। बुधबार चाँदीको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत आइतबार यसको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र भन्सार महसुलका आधारमा महासंघले दैनिक रूपमा तय गर्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य घटबढ भएको हो।
महासंघले निर्धारण गर्ने यो मूल्य आधारभूत दर मात्र भएकाले सर्वसाधारणले गहना खरिद गर्दा कालिगड ज्याला, जर्ती र मूल्य अभिवृद्धि करसमेत थप भई उपभोक्ता मूल्य केही बढी पर्न जान्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment