भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग गर्न जनसम्पर्क समिति भर्जिनियाको अपिल

डिसी नेपाल
२३ भदौ २०८३ १०:३८

काठमाडाैं। नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टरले गत भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण रसुवा, नुवाकोट लगायतका जिल्लाहरूमा भएको व्यापक धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि हातेमालो गर्न अपिल गरेको छ।

च्याप्टरका कार्यवाहक सभापति हरि प्रसाद लामिछानेको अध्यक्षतामा अगस्ट २९, २०२६ मा बसेको आकस्मिक भर्चुअल बैठकले विपत्तिमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

साथै, बैठकले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन नेपाल सरकारसँग माग गरेको छ।

प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई तत्काल मलम लगाउन भर्जिनिया च्याप्टरको पहलमा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। ‘विपत्तिमा एकता, पीडामा साथ’ भन्ने भावनाका साथ सञ्चालित यस मानवीय अभियानमा आफ्नो क्षमता अनुसार सहयोग पुर्‍याउन भर्जिनियावासी नेपाली समुदाय तथा सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल गरिएको छ।

साथै, च्याप्टरले यस दुःखद घडीमा सहयोग प्रदान गर्ने मनकारी दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले पीडितहरूको जीवनमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *