ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कसको इसारामा रोकियो?: सांसद डा. चन्द्रमोहन यादव

डिसी नेपाल
२२ साउन २०८३ १३:४२

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले मधेस प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने भनिएको राष्ट्रियस्तरको ट्रमा सेन्टरको योजना कुन आधारमा रोकियो भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने पूर्ववर्ती सरकारहरूको निर्णयबाट वर्तमान सरकार पछाडि हट्नु ‘नीतिगत निरन्तरता’को सिद्धान्तविपरीत भएको बताए। सरकारको यस्तो गैरजिम्मेवार निर्णयले राज्यप्रतिको जनविश्वास कमजोर बनाउने चेतावनीसमेत उनले दिए।

सांसद यादवले आर्थिक वर्ष २०७७/७८ देखि नै विभिन्न सरकारले ढल्केबरमा ‘डेडिकेटेड ट्रमा सेन्टर’ निर्माणको प्रक्रिया अघि बढाएको स्मरण गराए। त्यसका लागि एक चरणमा २० करोड रुपैयाँ र अर्को चरणमा २ करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको र ट्रमा सेन्टरका लागि चार बिघा जग्गा अधिग्रहणको कामसमेत सम्पन्न भइसकेको तथ्य उनले संसद्मा प्रस्तुत गरे।

“आगामी बजेट भाषणमा पनि मधेस प्रदेशमा एउटा ट्रमा सेन्टर बनाइने प्रतिबद्धता जनाइएको थियो। तर दुई दिनअघि स्वास्थ्यमन्त्रीज्यूले ढल्केबरको नाम नै उच्चारण नगरी अर्कै ठाउँको नाम लिनुभयो,” यादवले आक्रोश व्यक्त गर्दै भने, “अन्य कुनै उपयुक्त ठाउँमा ट्रमा सेन्टर बन्छ भने मेरो कुनै विरोध छैन। तर ढल्केबरका लागि तय भएको र पूर्वाधार अघि बढेको ट्रमा सेन्टर कहाँ हरायो? सरकारसँग मेरो सीधा प्रश्न छ।”

ट्रमा सेन्टर स्थापना गर्दा सवारी दुर्घटना बढी हुने क्षेत्र र रणनीतिक महत्त्वको अवस्थितिलाई प्राथमिकता दिनुपर्ने वैज्ञानिक मान्यता रहेको उल्लेख गर्दै सांसद यादवले ढल्केबर नै त्यसका लागि सर्वोत्तम स्थान भएको दाबी गरे। ढल्केबर पूर्व-पश्चिम राजमार्ग, काठमाडौँ-जनकपुर सडकखण्ड र बीपी राजमार्ग जोडिने प्रमुख ‘जङ्क्सन’ भएकाले रणनीतिक र प्राविधिक दुवै हिसाबले ट्रमा सेन्टरका लागि सबैभन्दा उपयुक्त स्थान रहेको उनको तर्क थियो।

“ट्रमा सेन्टर त्यहीँ हुनुपर्छ जहाँ दुर्घटनाका बिरामी तत्काल पुग्न सक्छन्। ढल्केबर मुख्य सञ्जालको केन्द्र हो। यही वस्तुगत मूल्याङ्कनकै आधारमा तत्कालीन सरकारले त्यहाँ राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने निर्णय गरेको थियो,” उनले थपे।

मधेस प्रदेशको कुल ६१ लाख जनसङ्ख्यामध्ये धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा मात्रै करिब ३० लाख नागरिक बसोबास गर्ने उल्लेख गर्दै यादवले यी चार जिल्लाका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन ढल्केबर नै मुख्य पायक पर्ने बताए।

वर्तमान सरकारले जनस्वास्थ्य र विकासभन्दा राजनीतिक पूर्वाग्रहलाई प्राथमिकता दिएको आरोप लगाउँदै उनले नीतिगत निरन्तरता तोड्ने कदमले मधेसका जनतामा आक्रोश बढाएको बताए। भर्खरै साम्प्रदायिक तनावबाट मुक्त भएर सामान्य अवस्थामा फर्किँदै गरेको मधेसमा सरकारको यस्तो विभेदकारी निर्णयले पुनः असन्तोष र निराशा फैलाउने भन्दै उनले स्थानीय जनताको आन्दोलनप्रति ऐक्यबद्धता जनाए। ढल्केबरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै उनले सरकारको पछिल्लो निर्णयको कडा विरोध गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *