वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने सुर्खेत घर भएका ४६ वर्षीय धना तिवारी, काठमाडौं कीर्तिपुर नगरपालिका-४ बस्ने बागलुङ घर भएका ३३ वर्षीय राम बहादुर खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने दार्चुला घर भएका ३० वर्षीय सुबोध जंग कुँवर रहेका छन्।
पक्राउ मध्ये धनाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १६ लाख रूपैयाँ, राम बहादुरले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २५ लाख रूपैयाँ र सुबोधले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनालाई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बाट बुधबार तथा राम बहादुरलाई भक्तपुर चाँगुनारायण नगरपालिका-६ बाट र सुबोधलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment