आन्दोलन व्यवस्थापनमा सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल गरिएको छ।
कार्यक्रमपछि बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्ने विषयमा अझै पनि स्पष्ट उत्तर खोजिरहेको बताएका छन्।
उनले गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो वा कम बल प्रयोग गर्न सकिन्थ्यो भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए। गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि छलफल भए पनि उक्त प्रश्नको स्पष्ट उत्तर अझै प्राप्त नभएको उनको भनाइ थियो।
उनले भने,‘गत भदौ २३ र २४ गते जे देखियो र भोगियो, त्यसबारे मेरो मनमा अझै एउटा प्रश्न छ। भदौ २३ गते प्रहरीले कम बल प्रयोग गर्न सक्थ्यो कि सक्दैनथ्यो ? त्यति धेरै बल प्रयोग गर्नु आवश्यक थियो कि थिएन ? गौरीबहादुर कार्कीको प्रतिवेदन आयो, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि हामीले छलफल गर्यौं। तर, यो प्रश्नको स्पष्ट उत्तर मैले अझै भेटिरहेको छैन। त्यसैले यो विषयमा अझै गम्भीर छलफल हुन आवश्यक छ।’
थापाले मधेस केन्द्रित आन्दोलनका क्रममा बारम्बार बल प्रयोग हुने गरेको उल्लेख गर्दै त्यसको कारणबारे पनि बहस हुनुपर्ने बताए। प्रहरी संगठनभित्र मधेसप्रति रहेको सोच वा दृष्टिकोणका कारण अत्यधिक बल प्रयोग भएको हो कि भन्ने विषयमा पनि छलफल गर्नुपर्ने उनको धारणा थियो।
उनले भने, ‘मधेसमा हुने आन्दोलनमा जहिले पनि बल प्रयोग भएको देखिन्छ। प्रहरीभित्र अनौपचारिक रूपमा हुने छलफलमा मधेसलाई हेर्ने जुन मानसिकता छ, त्यसका कारण बढी बल प्रयोग भएको हो कि भन्ने विषयमा पनि बहस गरौं। आन्दोलनको कुरा आउँदा प्रहरी मात्र होइन, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको भूमिकाबारे पनि प्रश्न उठ्छ। यसपालि सुनसरी घटनामा सेना किन परिचालन गरियो भन्ने प्रश्न पनि उठ्यो। सुरक्षा निकायले बढी बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने, कम बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने अवस्था देखिएको छ।’
उनले आन्दोलन व्यवस्थापनको जिम्मेवारी प्रहरीमा मात्र सीमित नरहने भन्दै सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको भूमिकाबारे पनि प्रश्न उठेको बताए।
सुनसरी घटनाका क्रममा नेपाली सेना परिचालन गरिएको विषयमा समेत प्रश्न उठेको उल्लेख गर्दै उनले सुरक्षा निकायले बढी बल प्रयोग गर्दा पनि आलोचना हुने र कम बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने अवस्था रहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment