वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ।
सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेटका तार व्यवस्थापन गर्ने उद्देश्यले महानगरपालिकाले आज महानगरपालिका र सेवा प्रदायक कम्पनिहरु वल्र्ड लिङ्क, नेपाल टेलिकम, भाइनेट कम्युनिकेशन र डिशहोम फाइबर नेटलगायत कम्पनीका प्रतिनधिसँग वैठक बसेको छ।
बैठकमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले इन्टरनेटका अव्यवस्थित तारका कारण पनि आगलागी र दुर्घटनाको जोखिमसमेत बढेको उल्लेख गर्दै नागरिकको सुरक्षाको निम्ति जतिसक्दो चाँडो व्यवस्थापन कार्य सुरु गर्ने बताए।
उनले भने, ‘शहरका पोलमा जथाभावी तार झुण्डाएको छ, अव्यवस्थित तारका कारण एकातिर सहरको सौन्दर्यमा नकारात्मक असर परेको छ भने अर्कोतर्फ आगलागी र दुर्घटनाको जोखिम पनि उत्तिकै छ, नागरिकको सुरक्षाका निम्ति जतिसक्दो चाँडो अव्यवस्थित तार हटाउनुपर्छ।’
अव्यवस्थित तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइएको र इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर त्यसको दीर्घकालीन समाधान खोजिने कार्यवाहक प्रमुख आलमले बताए।
बैठकले थप निष्कर्ष र कार्ययोजना तय गर्दै दीर्घकालिन समाधान गर्न आगामी सोमबार बृहत् छलफल गर्ने निर्णय गरेको छ। सो बैठकपछि सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिइने महानगरपालिकाका प्रमुख प्रशासनिय अधिकृत बसन्तबहादुर बोहराले जानकारी दिए। महानगरले पटक पटक तार व्यवस्थापनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्दापनि कार्यान्वयन हुन सकेको छैन।
पछिल्लो पटक २०८० वैशाख १४ गतेको बैठकले वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउने निर्णय गरे पनि त्यसले पूर्णता पाउन सकेको थिएन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment