मल किन्न भारत गएर जेल परेका दुई नेपाली किसान ३८ दिनपछि धरौटीमा रिहा

डिसी नेपाल
२२ साउन २०८३ २१:२९

काठमाडौं । खेतका लागि रासायनिक मल किन्न भारत गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन्।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन्। भारतको सीतामढी जिल्लास्थित डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले बुधबार नै उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार दुवै जना शुक्रबार साँझ पौने आठ बजेतिर डुमरवा जेलबाट छुटेका हुन्। ‘आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ,’ अविनाशले भने, ‘उहाँहरू रिहा हुनुभएको खबर प्राप्त भएको छ।’

अदालतमा किसानका तर्फबाट कानुनव्यवसायी संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए।

गएको असार १७ गते भारतको सीतामढी जिल्लाअन्तर्गत सोनबर्षा क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूलाई पक्राउ गरेको थियो। युरिया र डीएपी मल लिएर नेपाल फर्किंदै गर्दा नियन्त्रणमा लिइएका उनीहरूलाई असार १८ गते जेल चलान गरिएको थियो। नेपालमा मलको अभाव भएपछि किसानहरू सीमावर्ती भारतीय बजारमा मल किन्न जान बाध्य हुँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *