ढिला होला, तर गलत हुँदैन, नआत्तिनुहोस् : नागरिकलाई धैर्य गर्न प्रधानमन्त्री शाहको अपिल

डिसी नेपाल
२३ साउन २०८३ ६:४३

काठमाडौं। धानमन्त्री बालेन शाहले मुलुकमा दीर्घकालीन सुधार र परिवर्तनका लागि केही समय लाग्ने भन्दै देशवासीलाई धैर्य धारण गर्न अपिल गरेका छन्।

पछिल्ला राजनीतिक घटनाक्रम र राज्य संरचना सुधारका क्रममा देखिएका चुनौतीहरूबारे स्पष्ट पार्दै उनले सही नतिजा आउन केही समय लाग्ने बताएका हुन्।

सामाजिक सञ्जाल तथा आफ्ना पछिल्ला अभिव्यक्तिमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले भने, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।”

उनले बाहिर आउने अफवाह र सतही कुराहरूको पछि नलाग्न आग्रह गर्दै थपे, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।”

सरकारले अघि सारेका सुशासन, प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणका कदमहरूमाथि विभिन्न क्षेत्रबाट भइरहेका घेराबन्दी र भ्रमपूर्ण प्रचारतर्फ लक्षित गर्दै प्रधानमन्त्री शाहले यस्तो प्रतिक्रिया दिएको बुझिएको छ।

सरकार सञ्चालनका क्रममा आइपरेका विषम परिस्थिति, चौतर्फी दबाब र घेराबन्दीका बाबजुद पनि आफू सुशासन र समृद्धिको एजेन्डाबाट पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। विगतदेखि नै एक्लै संघर्ष गरेर यहाँसम्म आइपुगेको स्मरण गराउँदै उनले व्यवस्थापकीय र नीतिगत सुधारका कामहरू परिणाममुखी हुने आश्वासन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *