मेसी र रोनाल्डोलाई बम आक्रमणको धम्की, रोनाल्डोको होटलबाट संदिग्ध पक्राउ

डिसी नेपाल
२३ साउन २०८३ १४:३३

काठमाडौं । फिफा विश्वकप २०२६ का क्रममा विश्वका शीर्ष फुटबल स्टारहरूको सुरक्षालाई लिएर बाहिर आएको एउटा सूचनाले तरङ्ग पैदा गरिदिएको छ। स्पेनिस पत्रिका ‘इन्फर्मेसियन’को रिपोर्टअनुसार प्रतियोगिताका क्रममा लियोनेल मेसी सहित धेरै खेलाडी, अधिकारी र रेफ्रीहरूले गम्भीर धम्कीको सामना गर्नुपरेको थियो। जसमा बम आक्रमणको धम्की, खेलाडीहरूको निगरानी र हजारौँ धम्कीपूर्ण सन्देशहरू (मेसेज) समावेश थिए।

प्रहरी डोजियरका अनुसार विश्वकपका क्रममा धम्की पाउने फुटबलरहरूमध्ये मेसी सबैभन्दा बढी निशानामा थिए। अमेरिका र प्रतियोगितामा सहभागी देशका सुरक्षा एजेन्सीहरूले यी अलर्टहरूमाथि निरन्तर निगरानी राखिरहेका थिए। यसका लागि अमेरिकी गुप्तचर संस्था एफबीआई को निगरानीमा एउटा अन्तर्राष्ट्रिय सञ्जालमार्फत आतङ्कवादसँग जोडिएका अलर्ट, हिंसात्मक धम्की र संदिग्ध गतिविधिहरूको सूचना आदानप्रदान गरिएको थियो।

प्रतिवेदनअनुसार मेसीसँग सम्बन्धित सबैभन्दा गम्भीर घटनाहरूमध्ये एक डल्लासमा अगाडि आएको थियो, जहाँ अर्जेन्टिनाको सामना जोर्डनसँग हुँदै थियो। खेलअघि एक व्यक्तिले डल्लास विमानस्थलमा सम्पर्क गरी आफू अन्य दुई जनासँगै रङ्गशालातर्फ (स्टेडियम) गइरहेको दाबी गरेका थिए।

ती व्यक्तिले आफूहरूसँग ‘होममेड बम’ (घरमै बनाइएको बम) र एउटा ‘एआर-१५’ राइफल रहेको दाबी गरेका थिए। धम्कीमा प्रहरी अधिकारीहरू र दुवै टोलीका खेलाडीहरूलाई निशाना बनाउने कुरा उल्लेख थियो, जसमा विशेष गरी मेसीको नाम लिइएको थियो। मेसी प्रतियोगिताका सबैभन्दा ठूला आकर्षण रहेकाले यस धम्कीपछि सुरक्षा निकायहरूका लागि यो मामिला अत्यन्तै गम्भीर बनेको थियो। प्रहरी र सुरक्षा एजेन्सीहरू खेलाडीका साथै रङ्गशाला र वरपरका क्षेत्रहरूलाई लिएर उच्च सतर्कतामा थिए।

मेसीलाई लिएर अर्को गम्भीर धम्की अर्जेन्टिनाको इजिप्टविरुद्धको खेलअघि बाहिर आएको थियो। यो खेल एटलान्टामा खेलिँदै थियो। प्रतिवेदनअनुसार ‘एक्स’ (ट्विटर) मा एक प्रयोगकर्ताले आफू रङ्गशालाभित्र छिरेर मेसीमाथि विस्फोटक पदार्थ प्रहार गर्ने धम्की दिएका थिए। ती व्यक्तिले आफ्नो शरीरमा चारवटा बम बाँधेर रङ्गशाला प्रवेश गर्ने दाबी गरेका थिए।

यति मात्र होइन, एटलान्टामा खेलका क्रममा प्रहरीलाई अर्को एउटा फोन कल आएको थियो, जसमा रङ्गशालाभित्रका फरक-फरक फोहोरदानीहरूमा तीनवटा बम राखिएको दाबी गरिएको थियो। त्यसपछि रङ्गशालाको तलासीका लागि विस्फोटक पदार्थ विशेषज्ञ, तालिमप्राप्त कुकुर र ‘के-९’ टोलीहरू परिचालन गरिएको थियो।

प्रहरी डोजियरमा मेसीले पाएका धम्कीहरूको मात्र उल्लेख थिएन, बरु क्रिस्टियानो रोनाल्डोलाई पनि निशाना बनाइएको जानकारी बाहिर आएको छ।

प्रतिवेदनअनुसार जुन १४ मा फिफाका एक कर्मचारीले ‘अलर्ट’ जारी गरेका थिए। उनले एक संदिग्ध व्यक्तिलाई रोनाल्डो बसिरहेको ठाउँबारे जानकारी सङ्कलन गरिरहेको देखेका थिए। घटना बाहिर आएपछि ह्युस्टन प्रहरीलाई जानकारी गराइयो। त्यसपछि प्रहरीले जुन १६ मा रोनाल्डो बसेकै होटलबाट ती व्यक्तिलाई पक्राउ गर्‍यो। उनी त्यतिबेला पोर्चुगलको टोली बसेको होटलमै उपस्थित थिए।

यस घटनापछि खेलाडीहरू बस्ने होटल र उनीहरूको बसोबासको सुरक्षालाई लिएर विशेष सतर्कता अपनाइएको थियो।

विश्वकपका क्रममा सुरक्षाको खतरा खेलाडीहरूमा मात्र सीमित थिएन। म्याच अधिकारी र रेफ्रीहरूले पनि ठूलो सङ्ख्यामा धम्कीहरू सामना गर्नुपरेको थियो। फ्रान्सेली रेफ्री फ्रान्स्वा लेतेक्सिएले ह्वाट्सएपमा ६ हजारभन्दा बढी धम्कीपूर्ण मेसेज प्राप्त गरेका थिए। यसबाट प्रतियोगिताका क्रममा केही ठूला खेलहरूलाई लिएर खेलाडी र अधिकारीहरूमाथि कस्तो किसिमको अनलाइन दबाब र दुर्व्यवहार भएको थियो भन्ने अनुमान लगाउन सकिन्छ।

रिपोर्टअनुसार फिफा विश्वकप २०२६ का क्रममा सुरक्षा व्यवस्था अमेरिकी एजेन्सीहरूमा मात्र सीमित थिएन। फेडरल ब्युरो अफ इन्भेस्टिगेसन र ‘सेन्टर फर इन्टरनेसनल पोलिस कर्पोरेसन’ को सहयोगमा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा निकाय र प्रहरी बलहरूबिच समन्वय गरिएको थियो।

प्रतियोगितामा सहभागी देशका एजेन्सीहरूले आतङ्कवादसँग जोडिएका अलर्ट, हिंसात्मक धम्की र संदिग्ध गतिविधिहरूसँग सम्बन्धित सूचनाहरू आदानप्रदान गरिरहेका थिए। खेलाडी, उनीहरूका परिवार, टोली बसेका होटल र म्याच हुने स्थलहरूसँग जोडिएका सम्भावित खतराहरूको निरन्तर निगरानी गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *