वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

डिसी नेपाल
२४ साउन २०८३ ७:५०

काठमाडौँ। लगातारको वर्षासँगै पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ः४५ बजेसम्म तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायतका सडकखण्डमा यातायात प्रभावित भएको हो।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं २ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको छैन। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रे क्षेत्रमा समेत अरनिको राजमार्ग अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्गमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले प्रहरीले तिमीहरूलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएको सूचनालाई पालना गर्नसमेत आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *