सिंहदरबारको नाम फेर्ने सांसद ढकालको टिप्पणीप्रति राप्रपा प्रवक्ता श्रेष्ठको कडा आपत्ति

डिसी नेपाल
२४ साउन २०८३ १३:१७

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपालको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ को नाम परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि राजनीतिक वृत्तमा नयाँ बहस र विवाद सिर्जना भएको छ।

आइतबार आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै सांसद ढकालले नेपालमा प्राकृतिक रूपमा सिंह नपाइने तर्क प्रस्तुत गर्दै ‘सिंहदरबार’ नाम व्यावहारिक नभएको टिप्पणी गरेका थिए। राजनीतिक परिवर्तनसँगै मुलुकका विभिन्न स्थान, विमानस्थल तथा निकायहरूको नाम फेरिएको उदाहरण दिँदै उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ वा अन्य कुनै सान्दर्भिक नाम राख्नु उपयुक्त हुने धारणा व्यक्त गरेका थिए।

सांसद ढकालको उक्त भनाइ सार्वजनिक भएसँगै विपक्षी एवं राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा आक्रोश व्यक्त गरेका छन्। ढकालको अभिव्यक्तिलाई ‘उपबुज्रुकपना’ को संज्ञा दिँदै प्रवक्ता श्रेष्ठले ऐतिहासिक र बिम्बगत नाममाथि हल्का टिप्पणी नगर्न चेतावनी दिएका हुन्।

श्रेष्ठले ढकाललाई व्यङ्ग्यात्मक शैलीमा प्रहार गर्दै लेखेका छन्, “एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चाहिँ हरि !? गोबर नाम राखे हुन्न ?” दुई नेताबीचको यो भनाभन र घोचपेचले यतिबेला सामाजिक सञ्जालका साथै राजनीतिक वृत्तमा राम्रै चर्चा र बहस पाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *