देउवा पक्षीय नेताहरू भन्छन्- १५औं महाधिवेशनमा विवाद बिर्सिएर एकता र निष्पक्षताका साथ सहभागी हौं

डिसी नेपाल
२४ साउन २०८३ १८:५१

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित निष्पक्ष तथा पारदर्शी ढंगले हुनुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको राष्ट्रिय भेलाबारे छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पार्टीको विशेष महाधिवेशन अस्थायी व्यवस्था भएकाले अब हुने १५औँ महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए।

उनले निर्वाचन आयोगले आफूहरूको पक्षको कुरा नसुनी अर्को पक्षलाई मान्यता दिएको र त्यसपछि उत्पन्न परिस्थितिका कारण पार्टी निकै अप्ठ्यारो अवस्थामा पुगेको बताए।

अदालतबाट समेत आम निर्वाचनमा उम्मेदवारी तथा टिकट वितरणसम्बन्धी विषय टुंग्याउनुपर्ने अवस्था आएकाले पार्टीसँग पर्याप्त समय नभएको उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो पक्षको कुरा नसुनी निर्वाचन आयोगले अर्को पक्षलाई मान्यता दियो। समयको पावन्दीका बिचमा अदालतले पनि आम निर्वाचनमा टिकट वितरणमा समस्या नहोस भनेर निर्णय गरिदियो। हामीसँग समय थिएन। त्यस्तो अप्ठ्यारो स्थितिमा नेतृत्वले जस्तो निर्णय गर्यो त्यसैलाई स्वीकारेर निर्वाचनमा गयौं। समय पनि छैन, विकल्प सोच्ने परस्थिति पनि थिएन। गत भदौको २३–२४ को घटनाले प्रधानमन्त्री बन्छु भन्ने व्यक्ति नै हार्नुपर्यो।’

महतले १५औँ महाधिवेशन निष्पक्ष बनाउन सक्रिय सदस्यता, प्रतिनिधि छनोट, निर्वाचन प्रक्रिया, विधान र अनुशासनसम्बन्धी विषयमा स्पष्ट व्यवस्था र निष्पक्षता आवश्यक रहेको बताए।

विशेष महाधिवेशनका विषयमा आफूहरूले उठाएको विषय अस्थायी व्यवस्थाका रूपमा विशेष महाधिवेशन सम्पन्न गरी अब नियमित १५औँ महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने रहेको उनले स्पष्ट पारे।

यसैबीच, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टीभित्रका विवाद सहमतिका आधारमा समाधान गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।

राष्ट्रिय भेलाबारे आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसमा विगतदेखि नै सहमतिका आधारमा समस्या समाधान गर्दै महाधिवेशन गर्ने अभ्यास रहेकाले त्यसैलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

सिंहले नियमित महाधिवेशन पक्षधरले आयोजना गर्न लागेको भेला पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताए।

उनले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे। कार्यक्रममा नेता भीमसेनदास प्रधानले पार्टी एकता नभए मुलुक दुर्घटनामा पर्ने बताए।

कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयलाई लिएर विवाद देखिँदै आएको अवस्थामा उपस्थित नेताहरुले पार्टी एकता कायम गर्दै निष्पक्ष र सबै पक्षको सहभागितामा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *