सुधार केन्द्रमा राखिएका व्यक्तिको शंकास्पद मृत्यु, पाँच जना पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक-१, बिरुवास्थित ‘उत्साहित सुधार केन्द्र’मा राखिएका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ। मदिराको कुलत छुटाउन ३ दिनअघि मात्रै उक्त केन्द्रमा भर्ना गरिएका करिब ४४ वर्षीय उमेश खड्गीको रहस्यमय ढंगले ज्यान गएको हो।
सुधार केन्द्रमा राखिएको तीन दिनपछि आइतबार बिहान सञ्चालकले फोनमार्फत घटनाबारे जानकारी गराएको पीडित परिवारका सदस्यहरूले बताएका छन्। सुधार केन्द्रका सञ्चालकले खड्गी बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको र त्यहाँ उनको मृत्यु भएको दाबी गरेका छन्।
घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया तिब्र बनाएको छ। यस सम्बन्धमा सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई नियन्त्रणमा लिइएको भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्य खड्काले जानकारी दिएका छन्।
मृतक खड्गीको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ। घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै परिवार तथा आफन्तजनले सुधार केन्द्रमा तोडफोडको प्रयास गरेपछि अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment