बीपी राजमार्गमा पहिरो र लेदोको वितण्डा: यातायात ठप्प, यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र

डिसी नेपाल
२५ साउन २०८३ ७:२४

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरो र लेदोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गका विभिन्न खण्डमा माथिबाट पहिरो खसेपछि सवारी साधनको आवतजावत ठप्प बनेको छ।

विशेष गरी बीपी राजमार्गअन्तर्गत काभ्रेको नार्के क्षेत्रमा माथिबाट लेदोसहितको ठूलो पहिरो झरेर सडक पुरेको छ। लगातार वर्षा भइरहेकाले अझै थप पहिरो खस्ने जोखिम कायमै रहेको छ।

राजमार्गका कति स्थानमा पहिरो र लेदोले क्षति पुर्याएको छ भन्ने यकिन भइनसके पनि सडक खुलाउनका लागि प्रहरी र प्राविधिक टोलीले पहिरो पन्छाउने काम सुरु गरिसकेका छन्।

राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँबाट पूर्वतर्फ छुटेका र पूर्वबाट काठमाडौँ आउँदै गरेका सयौँ सवारीसाधन बिच बाटोमै रोकिएका छन्। काठमाडौँबाट पूर्वतर्फ गएका सवारीसाधनहरूलाई काभ्रेको भकुण्डेबेँसीमा र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधनहरूलाई सिन्धुलीको खुर्कोटमा रोकिएको छ।

लगातारको वर्षाले पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली प्रहरीले सडकको अद्यावधिक अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारण एवं यात्रुहरूलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *