गोकर्णेश्वरमा ब्यारेकको पर्खाल भत्काइँदा लेदो र हिल्साले सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित मकालबारी–देशै जोड्ने बागमती करिडोर सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल ढालिएपछि सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ।
बर्खाको समयमा पर्खाल भत्काइएको स्थानमा माटो र लेदो सडकमा खस्दा बाटो चिप्लो हुनुका साथै ठाउँ-ठाउँमा पानी जमेर ताल बनेपछि पैदलयात्री तथा सवारीचालकहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
सडक विस्तारका क्रममा काठमाडौँ क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डे, वडाध्यक्ष जयराम महत तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा डोजर लगाएर नेपाल ट्रष्टको स्वामित्वमा रहेको र नेपाली सेनाको विपद् व्यवस्थापन तालिम शिक्षालयले प्रयोग गर्दै आएको पर्खालको करिब ३० मिटर भाग भत्काइएको थियो।
उक्त कार्यका क्रममा सुरक्षा अनुमति र आधिकारिक पत्र माग गर्ने अन-ड्युटी सैन्य क्याप्टेनसँग सांसद पाण्डेको भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
सेनाले आधिकारिक प्रक्रिया पूरा नगरी पर्खाल भत्काउँदा जङ्गली जनावर बाहिरिन सक्ने र सुरक्षा जोखिम बढ्ने चिन्ता व्यक्त गरे पनि डोजर चलाएर पर्खाल ढालिएको थियो।
उक्त घटनापछि प्रधानसेनापति अशोकराज सिग्देल र प्रधानमन्त्रीबीच भेटघाट भई ध्यानाकर्षण गराइएको थियो भने सांसद पाण्डेले समन्वयमा केही कमी भएको स्वीकार्दै विज्ञप्ति मार्फत स्पष्टीकरण समेत दिइसकेका छन्।
विवाद साम्य भई करिडोरको ट्र्याक खुलेको भनिए पनि भत्काइएको पर्खालको अवशेष, पिल्लर तथा खसेको माटो सोहोरिएर व्यवस्थापन नगरिँदा अविरल वर्षाका कारण सडक हिलाम्मे बनेको छ। निर्माणस्थलमा थुप्रिएको हिलो र लेदोले गर्दा स्थानीयवासी, विद्यालय जाने बालबालिका तथा सर्वसाधारण चिप्लिएर लड्ने जोखिम बढेको छ।
तस्बिर: सक्षम घिमिरे/ नेपाल न्यूज बैंक









No ads found for this position

डिसी नेपाल
Facebook Comment