ठूलो वर्षामा कम भिज्ने वैज्ञानिक उपाय के हो ?
काठमाडौं । जब पानी पर्न थाल्छ, खुला ठाउँमा भएका मानिसहरू ओत लाग्ने ठाउँ (शेल्टर) खोज्न र कुद्न थाल्छन्। पानी पर्न थालेपछि सबैको पहिलो लक्ष्य भनेकै ओत लाग्ने ठाउँ भेट्टाउनु हुन्छ। तर, झरीमा दौडिनु कत्तिको सही हो भनेर के कहिल्यै सोच्नुभएको छ?
सामान्यतया हामी जति छिटो पानीबाट उम्किन्छौँ, त्यति नै कम भिजिन्छ भन्ने ठान्छौँ। तर, यो प्रश्नको उत्तर त्यति सरल छैन। पानीमा कम भिज्ने सबैभन्दा सही तरिका के हो भनेर वैज्ञानिकहरू विगत करिब ५० वर्षदेखि पत्ता लगाउने प्रयास गरिरहेका छन्। आउनुहोस्, यसबारे अनुसन्धानहरूले के भन्छन् त ? जानौं ।
हार्वर्डका गणितज्ञ डेभिड ई. बेलले सन् १९७६ मा यस प्रश्नको गणितीय उत्तर दिएका थिए। उनको यो अनुसन्धान ‘द म्याथम्याटिकल ग्याजेट’ मा प्रकाशित भएको थियो। बेलले वर्षाका फरक-फरक परिस्थितिलाई ध्यानमा राखेर यदि पानी सीधा माथिबाट तल खसिरहेको छ भने दौडिनु नै उत्तम हुने बताएका थिए।
मानिस जति तीव्र गतिमा आफ्नो गन्तव्यसम्म पुग्छ, त्यति नै कम समय पानीको सम्पर्कमा रहन्छ। यो कुरा हावा अगाडिबाट आइरहेको अवस्थामा पनि लागू हुन्छ। यस्तो स्थितिमा तीव्र गतिमा दौडिँदा कम भिजिन्छ।
तर, यहाँ एउटा चाखलाग्दो कुरा छ। बेलको हिसाबअनुसार, अत्यधिक तीव्र गतिमा दौडिँदा पनि भिजाइको मात्रामा ठूलो अन्तर भने पर्दैन। यहाँसम्म कि यदि कुनै व्यक्ति विश्वकीर्तिमानी गतिमा दौडियो भने पनि सामान्य गतिको तुलनामा ऊ करिब १० प्रतिशत मात्र कम भिज्छ। अर्थात्, केवल पानीबाट बच्नका लागि नै बलपूर्वक वा ज्यान फालेर दौडिनु आवश्यक छैन।
सबैभन्दा चाखलाग्दो स्थिति तब आउँछ, जब हावा मानिसको पछाडिबाट आइरहेको हुन्छ। यस्तो अवस्थामा पानीका थोपाहरू पनि हावासँगै मानिसकै दिशातर्फ अघि बढिरहेका हुन्छन्। बेलका अनुसार यस्तो अवस्थामा धेरै तीव्र गतिमा दौडिनु आवश्यक हुँदैन।
सरल भाषामा भन्नुपर्दा, यदि हावा पछाडिबाट आइरहेको छ भने हावाकै गतिसरह हिँड्नु वा हावाकै गतिमा दौडिनु केही परिस्थितिमा सबैभन्दा कम भिज्ने विकल्प हुन सक्छ। अर्थात्, झरीमा जति तीव्र गतिमा भाग्यो त्यति नै कम भिजिन्छ भन्ने धारणा पूर्ण रूपमा सही छैन।
सन् २०१७ को एउटा अनुसन्धानले यसमा अर्को एउटा तथ्य (फ्याक्टर) थपिदियो। सन् २०१७ मा ‘जर्नल अफ द वासिङ्टन एकेडेमी अफ साइन्स’ मा प्रकाशित अध्ययनले यस प्रश्नलाई अझ अगाडि बढाएको थियो।
यसमा हिँड्ने वा दौडिने गति मात्र नभई मानिसको उचाइ र शारीरिक बनावटलाई पनि ध्यानमा राखिएको थियो। यस मोडलका अनुसार होचो कद भएका व्यक्तिहरू केही परिस्थितिमा अग्ला व्यक्तिको तुलनामा कम भिज्न सक्छन्। यसको कारण के हो भने शरीरको आकार र पानीको सम्पर्कमा आउने भागले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment