स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगञ्जबाट चार जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ करिब ६ः३० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आदर्शनगरमा दुईवटा मोटरसाइकलमा सवार चार जनालाई रोकेर खानतलासी गरेको थियो। त्यसक्रममा उनीहरूको साथबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको नेपाली नगद बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, थाना डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, प्रसौनी गाउँपालिका–७ का २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको बिन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार उनीहरू प्रदेश २–०३–००३ प ७३२५ नम्बरको कालो रङको सुपर स्प्लेन्डर र ना.७५ प ५१५२ नम्बरको निलो रङको एफजेड मोटरसाइकलमा सवार थिए। दुवै मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
खानतलासीका क्रममा प्रहरीले एक हजार रुपैयाँ दरका ४०५ थान, पाँच सय रुपैयाँ दरका २ हजार ३६३ थान, एक सय रुपैयाँ दरका ६४३ थान र ५० रुपैयाँ दरका ८४ थान नोट बरामद गरेको जनाएको छ। बरामद नगदको कुल रकम ५२ लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रहरीले पक्राउ परेका चारै जनामाथि रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक रूपमा रकम अवैध वित्तीय कारोबार (हुण्डी)सँग सम्बन्धित हुनसक्ने आशंका गरिएको भए पनि अनुसन्धान पूरा भएपछि मात्रै यसको वास्तविक प्रकृति खुल्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पक्राउ परेका व्यक्तिहरू र बरामद रकमबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment