अनावश्यक ग्यास सिलिण्डर भण्डारण नगर्न प्रशासनको आग्रह, ८०२ घरमा पुर्‍याइयो ग्यास

डिसी नेपाल
२६ साउन २०८३ १०:०२

चितवन। चितवनमा खाना पकाउने ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गरेको छ। साथै, ग्यासको अभाव भएका उपभोक्तालाई सहज रूपमा सिलिण्डर उपलब्ध गराउन प्रशासनले वितरणमा सहजीकरण थालेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पछिल्लो एक सातामा ग्यास अभाव भएको भन्दै टोल फ्रि नम्बरमा गुनासो टिपाएका ८०२ जनाको घरमा ग्यास सिलिण्डर पुर्‍याइएको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुरसहित पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यास अभाव भएका आश्रमहरूमा समेत प्रशासनको समन्वयमा आश्रममै सिलिण्डर पुर्‍याइएको उनले जानकारी दिए।

ग्यास उद्योगबाट पर्याप्त मात्रामा ग्यास डिपोमा पुगिरहेको भनिए पनि डिपोबाट सर्वसाधारण उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो आएपछि प्रशासनले उद्योगदेखि खुद्रा व्यापारीसम्मको वितरण प्रणालीको अनुगमन थालेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ। उद्योगीहरूले पर्याप्त ग्यास बजारमा पठाइएको दाबी गरे पनि उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि वितरण प्रणालीमा कहाँ समस्या भइरहेको छ भन्नेबारे प्रशासनले निगरानी बढाएको हो।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार चितवनमा मासिक करिब एक लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ। तर अहिले दैनिक ६ देखि ७ हजार सिलिण्डरको हाराहारीमा मात्रै वितरण भइरहेकाले मागअनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको हो।

चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यासका उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूले चितवनसहित अन्य जिल्लाका डिलरहरूमा समेत नियमित रूपमा ग्यास पठाउँदै आएका छन्।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार उद्योगबाट भरिएका सिलिण्डरमध्ये करिब आधा चितवनमा र आधा अन्य जिल्लामा पठाउने गरिएको छ।

भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास भर्नुपर्ने अवस्था आएको उनले बताए। दुर्गापुरबाट ग्यास ल्याउन करिब दुई दिन लाग्ने भए पनि पारादीपबाट ल्याउँदा करिब चार दिन लाग्ने भएकाले आपूर्ति चक्रमा समेत असर परेको उनको भनाइ छ।

त्यसैगरी, ग्यास उपलब्ध गराउँदै आएको बरौजी रिफाइनरीबाट समेत मागअनुसार पर्याप्त ग्यास नआएको र पछिल्लो समय माग बढेकाले समस्या थपिएको उद्योगी कालाखेतीले बताए।

उनका अनुसार केही समयका लागि आधा सिलिण्डर मात्रै भर्ने व्यवस्था गर्न सकिए वा बरौजी रिफाइनरीबाट प्राप्त हुने ग्यासको कोटा केही दिनका लागि बढाउन सकिए आपूर्ति समस्या सहज हुन सक्छ।

कालाखेतीले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्रै ग्यास सिलिण्डर साट्न र घरमा अनावश्यक रूपमा सिलिण्डर भण्डारण नगर्न आग्रह गरे। उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर जम्मा नगरेमा हाल देखिएको अभाव छिट्टै समाधान गर्न सकिने उनको भनाइ छ।

स्थानीय प्रशासनले पनि ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ। उद्योगबाट डिलर हुँदै उपभोक्तासम्म ग्यास पुग्ने प्रक्रियामा कुनै समस्या वा कृत्रिम अभाव सिर्जना भएको पाइएमा आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *