लघुकथा : समयको तराजु
चौबाटोको पुरानो बरको बोटमुनि एउटा काँचको तराजु झुन्डिएको थियो, जहाँ मानिसहरू आफ्ना विगतका पश्चात्तापहरू बेचेर उमेर साट्थे। नियम प्रस्ट थियो— एउटा गल्तीको सम्झना मेट्न जीवनको एक वर्ष उमेर समर्पित गर्नुपर्थ्यो।
समीरले गोजीबाट एउटा कालो स्फटिक निकाल्यो, जसमा उसको पुरानो अपराध कैद थियो- वर्षौँअघि आफ्ना वृद्ध बाबुलाई एक्लै छाडेर हिँडेको क्षण। गल्तीको बोझले उसको आत्मा थिचिएको थियो।
“म यो ग्लानिबाट मुक्त हुन चाहन्छु,” समीरले तराजुका मालिक- चम्किला आँखा भएका वृद्धसँग भन्यो।
वृद्धले तराजु उचाल्दै भने, “पश्चात्ताप त मेटिनेछ, तर तिम्रो जीवनको एक वर्ष घट्नेछ। के मन्जुर छ?”
समीरले सहमतिमा टाउको हल्लायो। उसले त्यो स्फटिक तराजुमा राख्यो। नीलो प्रकाश चम्कियो। उसको अनुहारमा एकाएक नयाँ चाउरी थपियो, र त्यो कालो स्फटिक हावामा बाफिएर हरायो। समीरको छाती हलुका भयो, उसलाई अब कुनै ग्लानि रहेन।
तर, जब उसले बाबुको मुहार सम्झिने प्रयास गर्यो, उसको दिमाग शून्य भयो। गल्तीको दागसँगै बाबुले सानोमा उसलाई काखमा लिएर दिएको निस्वार्थ मायाको अन्तिम स्मृति पनि सधैँका लागि मेटिइसकेको थियो।
समीर आत्तियो, “वृद्धबा, मेरो बाबुको माया खोई?”
वृद्धले खाली तराजु देखाउँदै मुस्कुराएर भने, “दाग पखाल्दा कपडाको सक्कली रङ पनि अलिअलि उड्छ, बबुआ!”
No ads found for this position


Facebook Comment